आइओसीबाट ऋणमुक्त भयो आयल निगम, अब स्वचालित प्रणालीमा जान सजिलो

साझा कथा । भारतीय आयल कर्पोरेसन (आइओसी)लाई तिर्न बाँकी अर्बौ रुपैयाँको कारण देखाउँदै नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको थिएन । तर पछिल्लो १ बर्षमा नेपाल आयल निगमले आइओसीको ३१ अर्ब रूपैयाँ ऋण तिरेर सकेको छ । भारतीय आयल कर्पोरेशनलाई निगमले तिर्न बाँकी रहेको ३१ अर्बमा सरकारले दिएको ७ अर्ब ऋण पनि थप गरिएको हो । करिब १४ महिना लगाएर निगमले तेल किन्दा लागेको ३१ ऋण तिरेको हो ।

जुन २३ तारिखमा आइओसीलाई ऋण तिरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । अब हामी आइओसीबाट ऋण मुक्त भएका छौं, उनले भने ४५ करोड ब्याज बाँकी छ त्यो पनि जुलाई ८ सम्ममा तिरिसक्छौं।

उनका अनुसार आइओसीलाई तेलको बक्यौताको ब्याज सात प्रतिशतका दरले तिर्नुपर्छ । आइओसीले निगमलाई १५–१५ दिनमा तेलको नयाँ मूल्य सूची पठाउँछ । निगमले तेल किनेको पैसा प्रत्येक महिना ८ र २३ तारिखमा गरी दुई पटक पठाउन पर्छ । तर लामो समय पैसा तिर्न नसक्दा बक्यौता रहेको थियो ।

निगमका प्रवक्ता ठाकुरका अनुसार निगमले एक वर्षमा १७ अर्ब रूपैयाँ नाफा कमाएको थियो । सरकारले यसबीचमा ऋण तिर्न सात अर्ब रूपैयाँ दिएपछि ऋण २४ अर्बमा झरेको थियो ।

निगमले आइओसीको ऋण तिरेपनि नेपाल सरकारको सात अर्ब ऋण तिर्न भने बाँकी छ । उक्त ऋण ५ वर्षका लागि लिइएको हो । सम्झौता अनुसार ७० करोडका दरले १० किस्तामा ऋण भुक्तानी गर्नुपर्छ ।

आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि ऋणकै कारण नेपाल स्वचालित मूल्य प्रणालीमा जान सकेको थिएन । तर सरकारको ऋण र अन्य आन्तरिक भुक्तानी तिरिसकेपछि अब स्वचालित प्रणालीमा जाने प्रक्रिया सुरु हुनेछ । हाल बजारमा पेट्रोल प्रतिलिटर एक सय ७५, डिजेल–मट्टितेल एक सय ५५ र खाना पकाउने एलपिजी ग्यास १८ सय रूपैयाँ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?