Ad Banner

संसदमा प्रधानमन्त्रीले भनेका चार महत्वपूर्ण कुरा

साझा कथा । सरकारले ल्याएको आर्थिक बर्ष २०८०–८१ को बजेटउपर चलेको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा महत्वपूर्ण कुरा व्यक्त गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सामाजिक सञ्जालको निन्दा तथा आवेग, रासायनिक मल र बजेट निर्माणको विषयमा महत्वपूर्ण विषय उठान गरे ।

नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट हौसिएका प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमार्फत सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको र लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको उल्लेख गरे । प्रतिनिधि सभाको बैठकलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

प्रधानमन्त्रीले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् जनताका प्राथमिकतालाई विषायन्तर गर्ने प्रयास भइरहेको पनि बताए । उनले विषय विज्ञता, ज्ञान र विवेकभन्दा निन्दावाजी र आवेग हाबी हुँदै गइरहेको बताए । जसले जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही, सस्ता, बजारु विषयले प्राथमिकतामा पाउँदै जाँदा जनतामा निरासा र असन्तुष्टी फैलिएको उनको भनाइ थियो । यसले लोकतन्त्र र राजनीति नै कमजोर हुने उनको दाबी छ ।

‘मतदाताका रूपमा नयाँ पुस्ता तयार भएको छ। जसले युद्धको विभिषिका देख्न परेन। विद्यालय पुग्न ३(४ घण्टा हिँड्न परेन। त्यो पुस्ताले देशमा इन्टरनेट, टेलिफोन काटेर, सडक र एयरपोर्ट समेत बन्द गरेर चलाइएको शाही शासन देखेन। सञ्चारगृहमा पुगेर सम्पादकलाई के छाप्ने के देखाउने भनेर निर्देशन दिने इतिहास सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन,’ उनले भने, ‘त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बग्थ्यो भन्ने भाष्य स्थापित गरेर लोकतन्त्रलाई दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई छैन । २० वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदैछ ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलका विषयमा पनि महत्वपूर्ण कुरा व्यक्त गरे । अघिल्ला बर्षहरु जस्तै रोपाईँको समयमा रासायनिक मलको अभाव हुने हो कि भन्ने चिन्ता सर्वत्र छाएको थियो । तर यसपटक अधिकाँश ठाउँमा रासायनिक मल पुगिसकेको छ । केहि स्थानमा भने अझै अपर्याप्त छ । यो आर्थिक वर्षमा ७८.५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी प्रचण्डको छ । ‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं ।’

यी सँगै प्रचण्डले व्यक्त गरेको अर्को महत्वपूर्ण विषय हो बजेट निर्माण । प्रचण्डले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् । बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘बजेट निर्माण गर्ने कार्यमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा र समानुपातिक एवम् अन्य सांसद्समेतको सहभागितामा काम गर्ने प्रक्रिया आरम्भ गर्ने प्रस्ताव गर्छु,’ उनले भने ।

 

यो पढ्नु भयो ?