इस्टर्न जोन कपमा नेपालको ऐतिहासिक जित, बलर सन्तोषको ह्याट्रिक

साझा कथा । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा थाइल्याण्डविरुद्ध ऐतिहासिक जित हात पादैँ नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । नेपालको घातक बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । थाईल्यान्डलाई ४४ रनमै अल आउट गर्न युवा स्पिनर सन्तोषले घातक बलिङ गरे । उनले १२ औं ओभरको अन्तिम बलमा सुथिमोन थाङसोमलाई एलबीडब्लू आउट, १४ औं ओभरको पहिलो बलमा प्रियावत नोर्दीलाई बोल्ड र दोस्रो बलमा सुफानत मुआंगसाईलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिकसहित आफ्नो पाँच विकेट पूरा गरेका थिए ।

नेपाली युवाको बलिङ सामु थाईल्यान्डका मात्रै दुई ब्याटर डनुफोन फुआंयोटपिनिट १२ र ईशान बानेर्जीले १६ रन दोहोरो अंकमा रन बनाउन सकेका थिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै स्पिनर धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?