बजेट पारित गर्न इतिहासमै पहिलोपटक मतविभाजन, नतिजा सरकारकै पक्षमा

साझा कथा । हरेक बर्ष ध्वनीमतका आधारमा बजेट पारित हुन्थ्यो । तर यो बर्ष मत विभाजनबाट निर्णय गरिएको छ । प्रतिनिधिसभा बैठकमा इतिहासमै पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०–०८१ को विनियोजन विधेयक (बजेट) पारित गर्नका लागि मतविभाजन गर्नुपरेको हो । यस्तो माग गर्नुका पछाडी सत्तारुढ दलभित्रकै केहि सांसदले बजेटप्रति देखाएको असन्तुष्टिले काम गरेको हो । सत्तारुढ दलकै सांसदले बजेटको विपक्षमा मतदान गर्ने आशामा एमालेले मतविभाजनको माग गरेको थियो तर नजिता सरकारकै पक्षमा गयो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । यसमा ‘ ‘सभामुखको घोषणाप्रति कम्तीमा अट्ठाइस जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई देहाय बमोजिमको कुनै तरिकाले विभाजन गरी मत संकलन गर्नेछ,’ भनिएको छ । यहि नियममा टेकेर मत विभाजन भएको हो ।

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । विधेयकको पक्षमा १४७ मत पर्‍यो र बजेट पारित भयो ।

बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि यसरी मत विभाजन गरिएको पहिलो अभ्यास हो । बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले बजेट पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए ।

उनको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गराएका थिए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्विप जारी गरेका कारण सत्तारुढ दलका सांसदले केहि विषयमा चित्त नबुझेपनि बजेटका पक्षमा मतदान गरेका हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?