साझा कथा । आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने र विधिपूर्वक व्रत बस्ने परम्परा चलिआएको छ । आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।
यो एकादशीका दिन चिर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।
चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।
राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।
तुलसी रोप्ने परम्परा कसरी सुरु भयो ?
पौराणिक कालमा एउटी केटी थिइन् । उनको नाम वृन्दा थियो । उनको जन्म दानवको कुलमा भएको थियो। वृन्दा सानैदेखि भगवान विष्णुको परम भक्त थिइन् । धेरै मायाले भगवानको पूजा गर्थिन । जब उनी हुर्किइन्, राक्षस कुलका राक्षस राजा जालन्धरसँग उनको विवाह भयो, जलन्धर समुद्रबाट जन्मिएका थिए । वृन्दा एक धेरै धर्मी नारी थिइन् र सधैं आफ्नो पतिको सेवा गर्थिन् ।
एक पटक देवता र दानवबीच युद्ध भयो, जालन्धर युद्धमा जान थालेपछि वृन्दाले भनिन्–‘स्वामी तिमी युद्धमा जाँदैछौ, जबसम्म युद्धमा रहन्छौ, तबसम्म म पूजामा बस्छु र तिम्रो विजयको अनुष्ठान गर्छु । फर्केर आउनुहोस् म जाँदा मेरो संकल्प छोड्ने छैन् ।’ त्यसपछि जालन्धर युद्धमा गए र वृन्दाले व्रत लिन थालिन र पूजामा बसिन् । उनको व्रतको प्रभावले देवताहरूले पनि जालन्धरलाई जित्न सकेनन् । जब सबै देवताहरू हार्न थाले, तब उनीहरू भगवान विष्णु कहाँ गए ।
जब सबैले भगवानसँग प्रार्थना गरे, भगवानले भने कि वृन्दा मेरो परम भक्त हो, म उसलाई धोका दिन सक्दिन । तर दानवहरुको जिद्दिका कारण भगवान जालन्धरको रूप धारण गरी वृन्दाको दरबारमा पुग्छन् । वृन्दाले आफ्नो पतिलाई देख्नेबित्तिकै पूजाबाट उठेर पाउ छुन्छिन् । उनको संकल्प टुट्नेबित्तिकै देवताहरूले युद्धमा जालन्धरलाई मारेर शीर काटिदिए । वृन्दाको दरबारमा उनको टाउको खस्यो, जब वृन्दाले आफ्नो श्रीमानको टाउको काटिएको देखिन्, तब आफ्नो अगाडि उभिएको मान्छे को हो ? भन्दै रुन थालिन् ।
उनले सोधिन– तिमी को हौ, जसलाई मैले छोएँ, तब भगवान आफ्नो रूपमा आए तर केही बोल्न सकेनन्, वृन्दाले सबै कुरा बुझिन् । उसले देवताहरुलाई ढुङ्गा बन्न श्राप दिइन् । देवताहरु तुरुन्तै ढुङ्गामा परिणत भए । सबै देवताहरू रुन थाले । लक्ष्मी रुन थालिन् र प्रार्थना गर्न थालिन्, तब वृन्दाले भगवानलाई श्राप दिएर पतिको शीर लिएर सती गइन् ।
वृन्दाको खरानीबाट एउटा बिरुवा निस्क्यो, तब भगवान विष्णुले भने– आजदेखि उसको नाम तुलसी हो र यो ढुङ्गाको रूपमा मेरो एउटा रूप रहनेछ जसलाई तुलसीसँगै शालिग्रामको नामले पुजिन्छ र म ग्रहण गर्छु । त्यसबेलादेखि सबैले तुलसी रोप्न थाले र पूजा गर्न थाले र कात्तिक महिनामा शालिग्रामसँग तुलसीको विवाह गरिन्छ । देउथनी एकादशीको दिनलाई तुलसी विवाहको रुपमा मनाइन्छ ।