बकर इदमा गरिने कुर्बानीको कथा (तस्बिरमा घण्टाघरको बकर इद)

साझा कथा । इस्लाम धर्मालम्बीहरुले आज महान पर्व इद–उल–अज्हा (बकर इद) मनाइरहेका छन् । इद–उल–अज्हा (बकर इद)को अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छ भन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लाह खुशी भएका थिएनन् ।

अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारो छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) गर्न अल्लाहले आदेश दिएका थिए ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ ।

बकर इदको अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?