Ad Banner

कुख्यात ठेकेदार हरिनारायण (पप्पु) पक्राउ, आयल निगम डुबाउने खड्काको सबै सम्पत्ति जफत

साझा कथा । देशका विभिन्न भौतिक पूर्वाधारहरुको ठेक्का लिएर समयमा काम नगर्ने र गरेका काम पनि गुणस्तरहीन गर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका संचालन हरिनारायण रौनियार अन्ततः पक्राउ परेका छन् । बर्षौदेखि राज्यलाई ठग्दै र अतिरिक्त भार थोपर्दै आएका रौनियार निर्माण क्षेत्रमा कुख्यात ठेकेदार हुन् । पप्पु कन्स्ट्रक्सनले विभिन्न राष्ट्रिय आयोजनाको १० अर्ब रुपैयाँभन्दा बढीको ठेक्का लिएर अलपत्र पारेको छ ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । रौनियार संघीय समाजवादी फोरमका तर्फबाट पर्सा क्षेत्र नं ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उता, नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई नौ करोड १९ लाख ६ हजार रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो । उनको नाममा भएको सबै सम्पत्ति (घर, जग्गा) र श्रीमतीको नाममा भएका दुई वटा जग्गा पनि जफत गर्न आदेश दिएको छ ।

खड्का तिनै व्यक्ति हुन् जसको पालामा आयल निगम चरम घाटामा गएको थियो । साथै उनकै पालामा निगमको लागि जग्गा खरिद गर्ने भन्दै करोडौँ रकमको चलखेल भएको थियो ।

यो पढ्नु भयो ?