हैरान पार्यो नारायणगढ–मुग्लिन सडकखण्डले, विकल्पबारे किन सोँच्दैनन् शासकहरु ?

साझा कथा । ४ बर्ष लगाएर विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकखण्डले बर्षैपिच्छे सडकयात्रुलाई सास्ती दिने गरेको छ । विस्तार हुनुअघि पनि यो सडकखण्डले हरेक बर्षामा यात्रुहरुलाई दुःख दिने गरेको थियो । विस्तार भइसकेपछि समस्या कम होला कि भन्ने थियो, तर दुःख दोहोरिरह्यो । पछिल्लो ४ दिनमा मुग्लिन–नारायणगढ सडक खण्डमा ३ पटक ठूलो पहिरो गइसकेको छ । सो सडकखण्ड भएर काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरु २० घण्टासम्म थुनिएको अवस्था छ ।

सो सडकखण्ड अन्तर्गत तुइन खोला आसपासमा ठूलो पहिरो झरिरहेको छ । पछिल्लो समय शनिबार राति गएको पहिरो पन्छाउन आइतबार दिनभरी लाग्ने देखिएको छ । माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आवागमनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

तुइन खोलाको नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खसिरहेकाले हटाउन समस्या भइरहेको हो । त्यहाँ नयाँ पुल बन्दै छ । पुल हाल्ने क्रममा खोला वारितर्फको भाग कडा चट्टान भएकाले चलेको छैन । तर, पारिपट्टि निकै खुकुलो चट्टान छ । तलबाट कटिङ गर्दा माथिदेखिकै भाग खस्ने जोखिम छ ।

यो सडकखण्ड राजधानी काठमाडौंको लाइफलाइन हो । ठूला सवारी साधन र मालबहाक ट्रकहरुको लागि यो नै एकमात्र सडक हो । साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन अहिलेसम्म सकिएको छैन । काठमाडौं प्रवेश गर्ने सडक तुलनात्मक साँघुरो बनाएका यसअघिका शासकहरुले सो सडकको पनि विकल्प सोँच्नुपथ्र्यो ।

तर विकल्प नहुँदा हरेक बर्ष यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् । हुन त काठमाडौंबाट चितवन जोड्नका लागि सुरुङमार्ग सहितको सडक, काठमाडौं तराई फाष्टट्रयाक, काठमाडौं–हेटौँडा सुरुङमार्गका चर्चा र पहल नभएका होइनन् तर ती सार्थक पहल हुन सकेका छैनन् । यी परियोजनाहरु राजनैतिक दलहरुलाई चुनावी एजेण्डा मात्रै बनिरहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?