साझा कथा । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन ।
असारको तेस्रो साता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुँदा यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए ।
अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेका छन् ।
समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाई गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा यस वर्ष निरासाजनक रुपमा धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुँदा रोपाइँ सुक्न थोलेको छ ।
“पानी तान्ने मोटर लगाएरै करिब पाँच कठ्ठा जग्गामा धान रोपाइँ गरेँ”, पर्साको बहुदरमाई नगरपालिका–५ का किसान नवलकिशोर साहले भने, “वर्षा ठयाप्पै रोकिएपछि अहिले एकातिर धान रोपाइँ गर्न पाएका छैनौँ भने अर्कोतिर रोपिएको धानसमेत सुक्न थालेको छ”, अब पनि केही दिन पानी नपरेर ठूलो खडेरीको मार खेप्नुपर्ने हुन्छ, उनलाई चिन्ता छ ।
सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाईको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुरको आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा खडेरीको चिन्ता बढेको कृषि विज्ञको भनाइ छ । मधेस प्रदेशका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।