१५ दिनमै १ अर्ब ६० करोड नाफा गर्यो आयल निगमले

साझा कथा । बर्षौदेखि घाटामा रहेको नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । यसमा पछिल्लो समय घटेको पेट्रोलियम पदार्थको मूल्यले काम गरेको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सय रुपैयाँ नाफामा छ ।

निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता पनि तिरिसकेको छ । गएको सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएकोले घाटा भएको र त्यसलाई पूर्ति गर्न अहिले मूल्य घट्दा नघटाइएको बताइएको छ । चाँडै नै आयल निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गर्ने जनाइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?