पारिवारिक कलह समाधानका सुत्र

साझा कथा । हरेक परिवारको आफ्नो मूल्य हुन्छ । परिवारपिच्छे फरक जीवनशैली र दर्शन हुन्छ । पारिवारिक जीवन स्वर्ग बनाउने सुत्र हो, प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धा । जुन परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् तथा एकअर्काप्रति श्रद्धा र प्रेम राख्छन् उनीहरु एकढिक्का पनि हुन्छन् । पारिवारिक मेलमिलाप हुँदा सुख र धन–ऐश्वर्य प्राप्त भइरहन्छ तर एकअर्कामा शंका, अविश्वास, असहयोग गर्ने र कुनै सदस्यले मेरो गोरुको बाह्रै टक्का मात्रै गर्ने बानीले परिवारमा झमेला हुन्छ । साना साना कुराहरुमा एकअर्कामा दोषारोपण गर्ने, पदीय दायित्व भुल्ने, आफू बाहेक अरुलाई केहि थाहा नभएको जस्तो व्यवहार गर्ने, एकअर्कामा सम्मान नगर्ने परिवारमा दुःख, अभाव, कलह मात्र भइरहन्छ । परिवारका सदस्यहरुको अत्याधिक रिस, पूर्वाग्रह, गल्तीमा माफी नदिने प्रवृत्तिका कारण पारिवारिक जीवनमा भित्रभित्रै धमिरा लागिरहेको हुन्छ ।
पारिवारिक कलह किन हुन्छ र त्यसको समाधान कसरी गर्न सकिन्छ ? त्यसका लागि केही सुत्रहरु छन्ः
१. अपेक्षा गर्ने
परिवारका सदस्यहरुले एकअर्कासँग बढी अपेक्षा राख्छन् । आफ्नो कर्तव्य र जिम्मेवारी भने बोध गर्दैनन् । अरुबाट के पाइन्छ भनेर मात्र सोचिरहन्छन् । यसले उनीहरुलाई दुःखी बनाउँछ । त्यसैले परिवारका सबै सदस्यले आफ्नो पदीय मर्यादा अनुसारको व्यवहार देखाउने, आफ्नो जिम्मेवारीको काम गर्ने र नसक्दा मात्रै अरुको सहयोग लिने बानीले पारिवारिक जीवन सुखी हुन्छ । अरुबाट बढी अपेक्षा गर्दा हरेक दिन समस्या आइरहन्छ ।

२. कमजोरी मात्र खोज्ने र पूर्वाग्रही हुने
मान्छेमा गल्ती, कमजोरी हुन्छ । साथसाथै उनीहरुमा आ–आफ्नै क्षमता र गुण पनि हुन्छ । तर, कतिपयको बानी भने अरुको गल्ती कमजोरी मात्र खोज्ने हुन्छ । उनीहरु अर्काको गल्तीलाई मात्र खोतल्छन् र त्यही निहुँमा झगडा गरिरहन्छन् । साथै कुनै सदस्यले अर्को सदस्यप्रति पूर्वाग्रही सोँच राख्ने काम पनि भइरहेको हुन्छ । एउटा घटना वा कमजोरीका कारण उसलाई सधैँ हेर्ने दृष्टिकोण बनाउन हुँदैन । कुनै विषयमा कुनै सदस्य पारंगत हुन्छन्, कुनै विषयमा अर्को सदस्य । आफूजस्तै अर्को सदस्य हुनुपर्छ भन्ने मान्यता सर्वथा गलत छ । त्यसकारण सदस्यहरुबीच पूर्वाग्रह साँध्न हुँदैन । साथै बदलाको भावना मनमा राख्नु हुँदैन । कुनै समयमा गरिएको कुरालाई मनमा बदलाको भावना स्वरुप राखिरहँदा पारिवारिक सम्बन्धमा दरार आउँछ ।

३. अहमता प्रदर्शन र आफुले मात्र जित्ने प्रयास
कुनै सदस्यमा आफू मात्रै जान्ने सुन्ने र अरुको विचार गलत हो भन्ने भावना हुन्छ । हरेक कुरामा आफुलाई मात्र लाभ भएको, आफुले मात्र जितेको रुचाउने प्रवृत्ति हुन्छ । आफु हार्न नचाहने वा कुनैपनि कुरामा सम्झौता गर्न नचाहने हुन्छन् । कहिले काहीँ आफु पनि झुक्नुपर्छ, कति कुरामा आफुले पनि सम्झौता गर्नुपर्छ भनेर मनन गर्दैनन् । आफ्नो कुरा मात्र सर्वोपरी हो भन्ने ठान्छन् । यो कलहको प्रमुख कारण हो । त्यसैले आफ्नो अहमता त्याग्ने, अरुको विचारको सम्मान गर्ने र अरुलाई पनि जित्न दिने बानीको विकास गर्दा पारिवारिक सुख हुन्छ ।

४. सामर्थ्य अनुसार योगदान नगर्ने र संवाद नगर्ने
परिवारको अर्थतन्त्र व्यवस्थापनका कारण पनि झमेला सिर्जना भइरहेको हुन्छ । दैनिक जीवनयापनदेखि पारिवारिक कार्यक्रम, पर्व, पूजा आजा वा विभिन्न अनुष्ठान तथा दुःखविरामको बेला चाहिने खर्चको व्यवस्थापन समूचित ढंगले गर्नुपर्छ । त्यसको लागि परिवारको नेतृत्व गरिरहेको व्यक्तिलाई सबैले सहयोग गर्नुपर्छ । परिवारमा कसैको राम्रो कमाई भइरहेको हुन्छ, कसैको भइरहेको हुँदैन । त्यसमा परिवारका सदस्यहरुले सामर्थ्य अनुसारको योगदान गर्नुपर्छ । खर्चका विषयमा परिवारका सदस्यहरुबीच खुलेर कुरा हुनुपर्छ । खर्च मात्रै होइन, परिवारबीच देश काल परिस्थितिका बारेमा पनि खुलेर छलफल, बहस हुनुपर्छ तर स्वस्थ रुपमा । हरेक कुराको निर्णय आफुखुसी गर्नुहुँदैन र मेरो गोरुको बाह्रै टक्का गर्नुहुँदैन । कुनै निर्णय गर्नुपरे संवाद गर्ने र सामूहिक निर्णय गर्नुपर्छ ।

५. रिसाहा प्रवृत्ति र श्रीमान् श्रीमति सम्बन्ध
पारिवारिक वातावरणमा रिसले धेरै नकारात्मक प्रभाव पार्दछ । रिस मानवीय गुण हो, तर अत्याधिक रिस रोग हो । ठाउँ-कुठाउँ रिस देखाउने र चर्को स्वर गर्ने प्रवृत्तिले झमेला सिर्जना गर्छ, त्यसैले रिसलाई काबुमा राख्ने गर्नुपर्छ । यस्तै परिवारमा १ भन्दा बढी दम्पत्ति हुन सक्छन् । उनीहरुको आपसी सम्बन्धले परिवारमा समस्या परिरहेको हुन्छ । दम्पत्तिका सामान्य समस्यालाई पारिवारिक समस्याका रुपमा देखाउन हुँदैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?