साझा कथा । नेपालमा अहिले मनसुनी वायुको प्रभावले देशका धेरै भू–भागमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ । केहि स्थानमा भारी वर्षाका कारण आएको बाढी पहिरो, भूक्षयले सडक यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित भएका छन् । बर्षाकै कारण हवाई यातायात समेत प्रभावित भएको छ । कैयन् स्थानमा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ भने कति ठाउँमा बाढी पहिरोका कारण सर्वसाधारणले ज्यान समेत गुमाएका छन् । हरेक बर्ष नेपालमा बर्षायामको समयमा सयौँले ज्यान गुमाउदै आइरहेका छन् साथै करोडौँ मूल्य बराबरको धनमाल समेत नष्ट हुँदै आएको छ ।
यसैबीच अर्घाखाँचीको पणेनामा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ । मंगलबार विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको हो । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । मृत्यु हुनेमा ११ वर्षीय अञ्जु रास्कोटी, १० बर्षीय धनबहादुर रास्कोटी र १२ बर्षीय खुमबहादुर रास्कोटी रहेका छन् । १४ वर्षीय सचिन रास्कोटीलाई उद्दार गरी उपचारका लागि पाल्पा पठाइएको छ ।
यता चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड पहिरोको कारण हरेक बर्षजस्तै अहिले पनि पटकपटक अवरुद्ध हुँदै आइरहेको छ । यो सडकमार्ग हुदैँ आउ जाउ गर्ने यात्रुले घण्टौँसम्म बाटोमै बस्नुपर्ने अवस्था छ । गत शनिबारदेखि नारायणगढ–मुग्लिङ सडकमा छिनछिनमा पहिरो खस्ने र यातायात अवरुद्ध हुने क्रम चलिरहेको छ । सो सडकखण्ड भएर हिँड्ने यात्रुहरु भोकभोकै लामो जाममा तेसैमाथि पहिरोको त्रासमा बसिरहनुको पीडा छुट्टै छ । सडकको नौ ठाउँमा पहिरो झरेको झर्यै छ, एक ठाउँको पहिरो पन्छाउन करिब ४ देखि ५ घण्टा समय लागिरहेको छ । मंगलबारसम्म आउँदा नारायणगढ–मुग्लिङ सडकको सबै ठाउँको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
उता धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड पनि अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गएरातिदेखि सडक अवरुद्ध छ । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको छ । पहिरो पन्छाउन केहि समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ गइरहेका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने त्यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ ।
बर्षाकै कारण सुदुरपश्चिमको महाकाली लोकमार्गमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको छ ।
सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् ।
महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु अलपत्र परेका छन् । पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।
तराईका भागमा बर्षेनी नदीमा आउने बाढीका कारण त्यहाँ बसोवास गर्ने कैयन् विस्तापित भएका छन् । सँगै ठुलो मात्रामा जनधनको क्षति पनि हँुदै आएको छ । बाढी पहिरोबाट बच्नका लागि त्यहाँका सर्वसाधारणले नदी किनार तटबन्धको प्रयास गरेपछि प्रभावकारी भइरहेको छैन । यसैबीच बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा बर्षेनी आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत काम अगाडि बढेको छ ।
राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर सूर्यदेव नायकले बताए । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ ।