Ad Banner

बोल्दा बोल्दै आन्द्रा ओकल्ने प्रचण्ड, खाँदै छन् एमालेको खप्की

साझा कथा । नेपाली राजनीतिका चतुर खेलाडी हुन् पुष्पकमल दाहाल प्रचण्ड तर उनको चातुर्यता कहिलेकाँहि प्रत्युत्पादक पनि भइदिन्छ । खासगरी उनको बेलगाम बोली र अनियन्त्रित भाषण शैलीले उनी बेला-बेला विवादमा तानिन्छन् ।

१० बर्षे युद्धलाई विसर्जन गर्दै शान्ति प्रक्रियामा आएपछि उनी ३ पटक प्रधानमन्त्री भइसके । समय र अवसरले उनी परिपक्क राजनीतिज्ञ हुनुपर्ने हो । तर मनमा धेरैबेर कुरा राख्नै नसक्ने, कुनै न कुनै रुपमा व्यक्त गरिहाल्ने र भाषणको दौरान दर्शकको पृष्ठभूमि तथा मनोविज्ञान अनुसार बोल्न खोज्ने र आफ्नो मुखलाई नियन्त्रणमा राख्न नसक्ने उनको बानी कहिल्यै हटेन । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा त्यस्तै भयो । भारतको जम्मुका व्यापारिक घरानाका व्यक्ति तर नेपाललाई आधार बनाएर व्यापार गर्दै आएका सरदार प्रितम सिंहको पुस्तक लोकार्पण कार्यक्रममा प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको बताए जुन अहिले भाइरल भइरहेको छ र विपक्षीहरुलाई ठूलो मसला भएको छ ।

उनले सिंह दिल्ली गएको अहिले प्रधानमन्त्री हुँदा हो या अघिल्लो पटक हुँदाको बखत हो भन्ने विषयमा स्पष्ट नबताएपनि नेपालमा प्रधानमन्त्री बनाउन दिल्ली पनि निर्णायक शक्ति रहेको स्पष्ट उल्लेख गरेका छन् । नेपालमा प्रधानमन्त्री बन्नका लागि दिल्लीको सदाशयता चाहिन्छ भन्ने विषय प्रचण्डले नभनेको भएपनि यो लुकेको विषय भने थिएन । नेपालको प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गरेपनि त्यहाँ प्रतिनिधित्व गर्ने पार्टीहरु बेला बेला भारतको इशारामा नचलेका भने होइनन् । चाहे त्यो माधव कुमार नेपाल प्रधानमन्त्री बन्दै गर्दा होस् या डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्दै गर्दा होस् । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा पनि भारतको सदाशयता रहेको टिप्पणी भएको थियो । नेपाली राजनीतिमा बाह्य हस्तक्षेप ओपन सेक्रेट छ । त्यसैले यो विषय नेपालमा अव्यक्त सत्य हो ।

प्रधानमन्त्री प्रचण्ड कहिलेकाँहि नबोल्दा पनि फरक नपर्ने कुरा बोलिदिन्छन् र बेला बेला पेटमा रहेको सत्य कुरा नै उजागर गरिदिन्छन् । भाषण गर्दा भीड देखेर उत्तेजित हुने र साना कार्यक्रममा पनि दर्शक र आयोजकसँग साखुल्ले हुनका लागि उनी आन्द्राभुँडी नै ओकलिदिन्छन् । पुस्तक लोकार्पण कार्यक्रममा आफ्नो घनिष्ट मित्र प्रितम सिंहको बारेमा प्रशंसा गर्दै गर्दा प्रचण्ड फेरि चिप्लिएका हुन् । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर पीडित भएर भारतका अस्पतालमा उपचाररत हुँदा उनै प्रितम सिंहले सहयोग गरेका थिए । ठूलो व्यापारी भएका कारण सिंहसँग प्रचण्डको बाक्लै उठबस पनि हुने गरेको छ । प्रचण्डका नातिहरु (स्व.प्रकाश दाहालका २ छोरा) उनै सिंहले स्थापना गरेको किन्नरगार्डेनमा पढेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड कहिलेकाँहि नबोल्दा पनि फरक नपर्ने कुरा बोलिदिन्छन् र बेला बेला पेटमा रहेको सत्य कुरा नै उजागर गरिदिन्छन् । भाषण गर्दा भीड देखेर उत्तेजित हुने र साना कार्यक्रममा पनि दर्शक र आयोजकसँग साखुल्ले हुनका लागि उनी आन्द्राभुँडी नै ओकलिदिन्छन् । पुस्तक लोकार्पण कार्यक्रममा आफ्नो घनिष्ट मित्र प्रितम सिंहको बारेमा प्रशंसा गर्दै गर्दा प्रचण्ड फेरि चिप्लिएका हुन् ।

राजा महेन्द्रदेखि प्रचण्डसम्म सम्बन्ध बनाएका प्रितम सिंह नेपालमा बस, ट्रक भित्र्याउने यातायात व्यापारी हुन् । उनी पेशाले पाइलट हुन् तर पारिवारिक पृष्ठभूमिका कारण उनी उड्ने साधन होइन, गुड्ने साधनमा बढी लिप्त भए । सुरुमा नेपाल आउँदा उनले तीनवटा ६ चक्के ट्रक लिएर आएका थिए । काठमाडौंमा समेत गाडी भित्र्याउने उनै सिंहले पछि नेपालगंजबाट नेपालका विभिन्न भागमा जाने बस सेवा सुरु गरेका थिए । उनले नै राजा महेन्द्रका आसेपासेलाई चढ्नका लागि गाडीहरु दिने गर्दथे ।

सिंहको बारेमा राम्रै जानकारी पाएका प्रचण्डले उनको प्रशंसा गर्ने क्रममा सामाजिक सेवा र यातायात सेवा मात्रै होइन राजनीतिमा पनि सिंहले योगदान दिएको भन्न भ्याए । त्यहि क्रममा हो, उनले सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको प्रसंग उठाएको जहाँ उनी नराम्ररी चिप्लिए ।

नेकपा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन व्यापारी (प्रितम सिंह) को भूमिकाको विषयमा दिएको अभिव्यक्तिको विषयमा आपत्ति जनाएको छ । संसद्ले बनाएको प्रधानमन्त्रीले देशको स्वभिमानविरुद्ध गएर सार्वजनिक अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको भन्दै एमालेले यो विषयलाई संसदमा उठाएको छ र प्रचण्डको राजीनामा समेत मागेको छ ।
एमालेले विरोध गर्न थालेपछि प्रचण्डले आफूले सो कुरा व्यक्त नगरेको बरु सिंहले आफूलाई भनेका कुरा मात्रै व्यक्त गरेको जिकिर गरेका छन् । यसले विपक्षीको क्रोध शान्त हुने छैन । बरु केहि दिन संसद र संसद बाहिर प्रचण्डले एमाले लगायतका विपक्षी दलहरुबाट खप्की खाइरहनुपर्नेछ ।

यो पढ्नु भयो ?