साझा कथा । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा ४ सय ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जसमा ४ जना पूर्वसचिव समेत छन् ।
ललितानिवासको ११२ रोपनी ४ आना एक पैसा सरकारी जग्गा व्यत्तिःको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । जसमा सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो रहेका छन् । यस अघि नै एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात अहिले फरार छन् । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कीर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।