साझा कथा । स्वीकृत भएको डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरु नै उपलब्ध नभएपछि चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को इन्जिनियरिङ डिजाइननै परिवर्तन हुने भएको छ ।
चीन सरकारको सहयोगमा विस्तारित चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को डिजाइन पुनरावलोकन गर्नका लागि ठेकेदार कम्पनीले सडक विभागसँग अनुमति लिएको छ ।
केही हप्तामै ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र डिजाइन स्वीकृतिपछि नयाँ डिजाइनअनुसार काम थाल्ने योजना छ । जसका कारण ओभरपास निर्माणको काम प्रभावित भएको छ ।
विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जजनका अनुसार ओभरपासमा ४ वटा ‘पाइल’ रहने गरी डिजाइन गरिएको थियो । त्यो निकै गहिरो हुने गरी तय भएको थियो ।
डिजाइनअनुसार त्यति गहिरोसम्म पुगेर काम गर्न आवश्यक पर्ने ‘भाइब्रो हेमर्स’ मेसिन ठेकेदार कम्पनीले भारतबाट ल्याउन नसकिने बताएपछि डिजाइन फेर्नुपर्ने अवस्था आएको हो । अब ४ वटाको सट्टामा गहिरो नहुने गरी १२ वटा पाइल राख्न लागिएको जानकारी ठेकेदार कम्पनीले दिएको छ ।
‘एमएसी वालको जगको डिजाइन पनि रिभ्यु हुँदैछ,’ महर्जनले भने, ‘यसअघिको डिजाइनअनुसार काम गर्न व्यावहारिक समस्या परेपछि ठेकेदारले नयाँ डिजाइन पेश गर्दैछ ।’ आयोजनाको डिजाइनको काम ठेकेदार आफैंले गरेको थियो । आफूले गर्नै नसक्ने काम गर्ने गरी डिजाइन तयार गर्दा आयोजनाको निर्माण सकिने गरी तोकिएको अवधिभन्दा ८ महिनाअघि डिजाइन नै बदल्न लागिएको हो ।
ठेकेदारले गरेको नयाँ डिजाइनमा ओभरपासको ग्रेड, ब्रिज क्लेयरेन्ससहित ओभरपासको भारवहन क्षमता लगायतका पक्ष मजबुत रहनेरनरहने पक्ष हेरेर विभागले डिजाइन पुनरवलोकनलाई स्वीकृत गरिने सिनियर डिभजनल इन्जिनियर महर्जनले बताए ।
अहिलेको डिजाइनअनुसार ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य चार लेन (फास्ट ट्रयाक)मा र्याम्प (भिरालो बाटो) बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गरिने छ ।
योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्याम्प बनाउनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्याम्प बन्ने छ । र्याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ ।