साझा कथा । बालुवाटारको जग्गा हिनामिना गरिएको प्रकरण अर्थात ललिता निवास काण्डमा संलग्न ३०० बढी व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले सरकारसँग अनुमति लिएको खबर सार्वजनिक भएसँगै वरिष्ठ व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।
आइतबार बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानमा तानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।
राउत काठमाडौंबाट विराटनगर जाने तयारीमा रहेको ललिता निवास काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
सो काण्डमा मुछिएका पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, माओवादी नेता तथा पूर्व मन्त्री दिनानाथ शर्मा लगायतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राजनैतिक व्यक्तिहरु भएको हुनाले प्रहरीले उनीहरुलाई अवस्था मूल्यांकन गरेर मात्रै पक्राउ गर्ने रणनीति अख्तियार गरेको छ ।
आजै प्रहरीले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिनाको आरोपमा थप दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको हो । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।