Ad Banner

प्रचण्डः ज्ञानुका बा कि प्रधानमन्त्री ?

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहको पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्ति विवादमा आयो । यो विवाद केवल सञ्चार माध्यम र चियागफ मात्र भएन कि प्रतिपक्षी दलका लागि संसद चल्न नदिने मसला समेत बन्यो । केही दिनदेखि संसद चल्न नसकेपछि अन्ततः प्रधामन्त्री प्रचण्डले सोमबार संसदमा पुगेर स्पष्टीकरण नै दिनु पर्यो ।

संसदमा स्पष्टीकरण दिदै प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफू प्रधानमन्त्री भए पनि सो समयमा छोरी ज्ञानुको बा भएर बोलेको बताए । “म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि, कहिले दिमाग अगाडि हुन्छ,” प्रचण्डले भने, “दिमाग अगाडि हुँदा विज्ञानका विषय बोल्छु, मन अगाडि हुँदा, आवेग, भावना हुन्छ । यही हो प्रचण्ड । यो सदनका अगाडि योभन्दा बढी म के भन्न सक्छु ?”

उनले भावनाले चल्दैन भन्ने बुझ्दाबुझ्नै पनि कहिलेकाँही मनले जितेर भावनात्मक हुने गरेको बताए । उनले संसद्मा आत्मसमीक्षा गर्दै आफ्ना कमजोरी स्वीकार गरे । उनले प्रितम सिंहका विषयमा लेखिएको पुस्तकका विषयमा दिएको अभिव्यक्तिको प्रसंग यसरी सुनाएका थिए ।

“११ वर्षअघिको कुरा हो । मेरी छोरी ज्ञानु जटिल अवस्थामा पुगेर दिल्लीमा उपचारका लागि लगिएको थियो । त्यसबेला प्रितम सिंहले ठूलो सहयोग गर्नुभएको थियो । उहाँले बेडबाट उठ्न नसक्ने भएकी छोरीलाई आफ्नो फ्ल्याटमा लगेर राख्नुभएको थियो,” छोरी ज्ञानुलाई उपचारका लागि दिल्ली लगेको प्रसंग सम्झँदै प्रधानमन्त्रीले भने, “त्यसबेला उहाँले मलाई प्रधानमन्त्री तपाईँ नै बन्नुपर्छ भन्नुभएको थियो । मैले उहाँलाई सद्भावका लागि धन्यवाद भनेको थिएँ । किनभने, त्यहाँभन्दा बढी कुरा गर्नुको कुनै औचित्य पनि थिएन ।”

उनले ११ वर्षअघि प्रितम सिंहले लगाएको गुन र भावनात्मक विषय स्मरण गर्दा त्यसको गलत अर्थ लागेको बताए । “राम्रा काम सम्झँदै गर्दा उहाँले त्यसबेला भनेको भावनात्मक कुरा सम्झिएँ । उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ, मसँग यसो भन्नुभएको थियो भनेर सम्झिएँ । र, त्यही कुरा मैले त्यहाँ भनेको हुँ,” उनले भने, “प्रधानमन्त्रीका रुपमा मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । तर, मैले त्यो छोरी उठ्न नसक्ने भएको बेड सम्झिएँ । म प्रधानमन्त्री भएरभन्दा पनि ज्ञानुका बा भएर बोलेको थिएँ ।”

उनले आफू भावनात्मक भएर त्यस्तो बोल्न पुगेको र भावनात्मक हुने कुरा आफ्नो वास्तविकता भएको बताए । “म अलिक भावनात्मक छु, सेन्टिमेन्टल पनि छु । नहुुनुपथ्र्यो, तर, के गर्नुहुन्छ, प्रचण्ड भनेकै यस्तै छु त” प्रचण्डले भने ।

यो पढ्नु भयो ?