साझा कथा । माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा अर्मलाकोट गाउँ। धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाएका घर। ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ङ हुन्छ। पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्छ। परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक देखिन्छ।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगाको घर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलका बुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।
यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन्। गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुगेका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ङ भएको बताए। ‘हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे। पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो’, उनले भने, ‘यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले लोभ्यायो।’
पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताउनुभयो। उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको संख्यामा कमी आएको छैन। बिदाका दिन अझ बढी पर्यटकको चहलपहल हुने अध्यक्ष गुरुङले सुनाए। ‘अहिले गाउँमा बर्खाको चटारो छ र पनि पाहुनाको स्वागतमा आउँछौँ’, उनले भने, ‘पानी परे पनि रुझेरै आउँछन्।। वर्षातमा पनि पाहुनाको कमी भएको छैन।”
पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताइन्। यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ। महेन्द्रगुफाबाट करिब दुई घण्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ। गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उनले जानकारी दिइन्।
हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्द्रुक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताइन्। साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ।
होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार १०० को दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ। यहाँको कोसेलीका रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा र भाङ्ग्रा लैजान सकिन्छ।
गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षातको समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाइन्। ‘होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन। हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ’, उनले भनिन्, ‘वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउँछन्। यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ।’ -रासस