साझा कथा । बुधबार विहान ८ः३३ मा निधन भएकी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले पशुपतिमा दिउँसो २ बजे अन्तिम संस्कार गर्ने जानकारी दिएको छ । त्यसअघि सिताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ ।
प्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सिताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ । दाहालकी जीवनसंगिनी सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित थिइन् । बुधबार भने उनलाई हृदयाघात भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि ६९ वर्षकी उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि बुधबारका लागि आव्हान गरिएका संसद बैठक र अन्य राजनैतिक बैठकहरु स्थगित गरिएका छन् । राष्ट्रिय सभाको बैठक, नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक र समाजवादी मोर्चाको बैठक बुधबारका लागि बोलाइएको थियो, ती सबै स्थगित भएका छन् ।
नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।