तनहुँ । मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)
दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम कार्यक्रम हुँदैछ । विभिन्न निकायहरुले विभिन्न कार्यक्रम गरी भानुभक्तको स्मरण र महिना मन्थन गर्ने गर्छन् । उता तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर भन खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।
भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।
घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उनले भने, ‘कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुंगा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।’
भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाखमा पुनःनिर्माण गरेका थिए । जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा एक लाख २७ हजारको क्षति भएको थियो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।
भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए ।
भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।
आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउँछन् । ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन,’ रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।’
भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन् ।
चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।
आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढेको हुनुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल या घरबास आदिको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ ।
भानुसँग जोडिएको घाँसीकुवा पनि पृथ्वीराजमार्गमा बनाइएको छ र चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएको छैन ।
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ । यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन् ।
सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन् । त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ ।
भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । नेपाल सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ । उनले आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर भानु कतै उतै जन्मिएका त होइनन् भन्ने खालको भ्रम पैदा भएको व्यङ्ग्यात्मक टिप्पणी गरे । भानुभक्तका छोरा रामनाथ थिए भने उनका छोरा देवीभक्तका छो
रा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउछन् । रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन् ।
भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए ।
पनाति आचार्यले भने, “यत्रो देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ ।”
उक्त स्थललाई पर्यटीयक गन्तव्य बनाउन पहल भने नभएका होइनन् । डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिए ।
सोका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो । उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ । महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताए । उनले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाए ।
सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।