सरकार भन्छ मल पर्याप्त छ, गाउँमा भाग लगाएर बाँडिदैछ

साझा कथा । अहिलेसम्म देशभर जम्मा २७ प्रतिशत धान रोपाईँ सकिएको छ । कतै रोपाईँ चलिरहेको छ, कतै तयारी गरिएको छ । कति ठाउँमा भने पर्याप्त पानी नपर्दा विउ गोड्न सकिएको छैन । धानखेतीका लागि चाहिने रासायनिक मलले हरेक बर्ष तनाव दिने गर्छ । पर्याप्त मात्रामा मल नपाएपछि किसानहरुले यो बर्ष पनि भाग लगाएर मल बाँडेका छन् । तर सरकार भन्छ, सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात छ ।

जसमध्ये कृषि सामग्री लिमिटेडसँग २९ हजार ५८९ टन र साल्ट ट्रेडिङ् कम्पनीसँग २९ हजार ९०३ टन मल मौज्दात छ । यसपालि कृषकलाई धानबाली लगाउँदा रासायनिक मलको अभाव झेल्नु नपरोस् भनेर सरकारले मलको मौज्दात र वितरण प्रणालीमा ध्यान दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार यस वर्ष अधिकांश स्थानमा रोपाइँ गर्ने बेला सुरु भएकाले मलको अभाव हुन नदिन वितरण र मौज्दातलाई विशेष ध्यान दिइएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सरकारले अहिलेसँगम्म गत आर्थिक वर्ष २०७८ ÷७९ को मौज्दातसमेत गरेर तीन लाख ३१ हजार १८ टन मल बिक्री गरेको छ ।

उनले भने, “यस वर्ष किसानलाई धान लगाउने समयमा मलको अभाव झेल्नु नपरोस् भनेर मौज्दात र वितरण प्रणालीमा विशेष ध्यान दिएका छौँ । यसपाली मौज्दात ,वितरणको तथ्याङ्क र आयातको क्रममा रहेको तथ्यांक हेर्दा मलको समस्या हुने देखिन्न ।”

बाँकी रहेको ७० प्रतिशत धान रोपाइँको लागि एक लाख टन मल आवश्यक पर्ने भएकाले आयातको क्रममा रहेको मलको मात्रा अनुसार यो वर्ष मलको अभाव नहुने सरकारको दाबी छ ।

सञ्जेलले भने, “धान खेतीको लागि एक लाख ५० हजार टन मल आवश्यक पर्ने हो, जेठ यता ७५ हजार टन मल बिक्री भइसकेको छ । अब एक लाख टन मल आवश्यक हो । जसमध्ये ५९ हजार टन मौज्दात छ । केही आयातकै क्रममा रहेकाले यो वर्ष मलको अभाव हुँदैन । ”

युरिया सबैभन्दा बढी विक्री भएको छ । प्रवक्ता सञ्जेलका अनृुसार युरिया मल दुई लाख १९ हजार ६५८ टन , डीएपी एक लाख चार हजार ९१७ टन र पोटास छ हजार ४४३ टन मल विक्री भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म तीन लाख ३४ हजार ५७२ टन मल आयात भएको छ । जसमा युरिया मलको आयात सबैभन्दा बढी भएको छ ।

बाँकी रहेको ७० प्रतिशत धान रोपाइँको लागि एक लाख टन मल आवश्यक पर्ने भएकाले आयातको क्रममा रहेको मलको मात्रा अनुसार यो वर्ष मलको अभाव नहुने सरकारको दाबी छ ।

युरिया मल दुई लाख २५ हजार ८१२ टन आयात भएको छ । डीएपी एक लाख आठ हजार ७५९ टन आयात भएको छ । पोटास भने आयात भएको छैन । साल्ट ट्रेडिङ् कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको सात हजार ५०० टन पोटास भारतको बिशाखापटनम्बाट नेपाल आयात हुँदै गरेको छ ।

यस्तै, साल्ट ट्रेडिङ् कम्पनी लिमिटेडको २५ हजार टन डीएपी मल आयात हुने क्रममा छ । १३ हजार ५० टन मल नेपाल भित्रिसकेको छ । साल्ट ट्रेडिङ् कम्पनी लिमिटेडको २० हजार टन डीएपी मल कोलकक्ता आइसकेको छ भने एक हजार ९१८ टन मल नेपाल भित्रिसकेको छ । नेपाल भित्रिएको मलको भने गोदाममा इन्ट्रि हुन बाँकी छ ।

कृषि सामग्री कम्पनी लिमिटेडको २५ हजार टन डीएपी मल असार मसान्तसम्म कोलकत्ता आइपुग्नेछ । कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार टन युरिया मल असार मसान्तसम्म नेपाल भित्रिन सुरु गर्नेछ ।

यता राष्ट्रिय कृषक समूह महासँघ नेपालका अध्यक्ष नवराज बस्नेतले सरकारले मलको विक्री भएको जनाए पनि वास्तविक किसानले भने अझै अभाव झेल्नुपरेको बताए । उनले भने, “सरकारले किसानका लागि मल अभाव नभएको र मल सबै क्षेत्रमा पुगेको जनाएको छ । तर, अझै पनि वास्तविक किसानहरुले मलको अभाव झेलेकै छन् ।”

मधेश प्रदेशमा किसानहरुले २०/२५ किलो मात्र मलमा चित्त बुझाउनुपरेको उनको आरोप छ । बस्नेतले भने, “सरकारले मल किसानलाई दिएका छौँ । अझै केही मौज्दात छ त भन्छ । मधेशमा किसानहरुले भाग लगाएर २०/२५ किलो मलमा चित्त बुझाउनुपरेको छ ।”

मल वितरण प्रणालीमा राजनीति भएका कारण कुनै ठाउँमा मल धेरै गएर थुप्रिने, कही भने मल नै नहुने अवस्था आएको उनको भनाइ छ । यस्तै भारतबाट अवैध रुपमा मल ल्याएर विक्री वितरण भइरहेकाले सरकारले मल वितरणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

यद्यपी अखिल नेपाल किसान महासँघ क्रान्तिकारीका अध्यक्ष चित्र बहादुर श्रेष्ठले यसपाली किसानहरुले रासायनिक मलको अभाव भएको धेरै गुनासो नआएको बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?