इमर्जिङ एसिया कप – नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य, बलर सोमपालले बनाए ७५ रन

साझा कथा । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’लाई नेपालले १८० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाएर अलआउट भयो । नेपालका लागि बलर सोमपाल कामीले अर्धशतक बनाए । कामीले १०० बलमा ७५ रन बनाए । कामीले ७५ रन बनाउँदा नेपालका व्याट्सम्यानहरु सस्तैमा पभेलियन फर्किए ।

उनीबाहेक नेपालका लागि प्रतिश जिसीले २६, गुलशन झाले १३, कुशल मल्लले १७ अर्जुन साउदले १७ र आशिफ शेखले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद वासिमले १० ओभरमा ५१ रन दिएर ४ विकेट लिए । त्यस्तै सहनवाज धानीले १० ओभरमा ३८ रन दिएर ५ विकेट लिए । टेस्ट राष्ट्र पाकिस्तानले आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।

नेपाली टोलीको कप्तानी रोहित पौडेल र पाकिस्तानको कप्तानी मोहम्मद हारिसले गरिरहेका छन् । इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक हङकङलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?