इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

साझा कथा । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए ।

प्रतिश जिसीले पनि २६ रन बनाउँदा नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे । कुशल मल्लले १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौं विकेटका लागि २८ रनको साझेदारी गरेका थिए ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?