साझा कथा । हरेक बर्ष वर्खायाम सुरु भए लगतै बाढी पहिरोका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितले बाटो नै अबरुद्ध हुदै आएको छ । पहिरोकै कारण सडक छेकिँदा पैदलयात्रीलाई समेत पनि हिडडुल गर्न असहज हुन्छ । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्।
सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्। गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन्।
डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन्। स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। तर, यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन्। हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन्।
केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन्। हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन्।
बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन्। बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। शाखा सडकका कारण लोकमार्गसमेत बेला–बेलामा अवरुद्ध हुने गरेको उनले बताए। मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ।
‘बर्खामा यातायात सञ्चालन हुन समस्या हुन्छ, बाढीपहिरोले अहिले पनि हाम्रो पालिकाको सबै ग्रामीण सडक अवरुद्ध छन्, मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पटक–पटक अवरुद्ध हुने गरेको छ’, उनले भने, ‘सडक अवरुद्ध हुँदा यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने गरेको छ, मुख्य सडक त केही समयै खुलाउने गरेका छौँ भने ग्रामीण सडक बर्खामै खुलाउन सकिँदैन। हिउँद नआउँदासम्म खुलाउन असम्भव नै हुन्छ।’ -रासस