साझा कथा । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तान हरिहजुर थापालाई पदबाट बर्खास्त गरेको छ । गत सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।
सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो । नेपाल भलिबल संघले त्रिभुवन आर्मी क्लबका अन्य ३ जना खेलाडीलाई पनि कारबाही गरेको छ ।
खेलका क्रममा खेलाडीले दर्शक कुटेका कारण आर्मीका क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । संघले भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।
छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीकव् निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।