साझा कथा । विभिन्न माग राखी बर्षौदेखि काठमाडौंको फोहोर विसर्जनमा अवरोध गर्दै आइरहेका नुवाकोटको सिस्डोल र बन्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न फेरि प्रतिबन्ध लगाएका छन् । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई सोमबारबाट बाटोमै रोकेका हुन् ।
डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको भन्दै उनीहरुले फोहोर रोकेका हुन् । यससँगै काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिरहेका मेयर बालेन शाहलाई पुनः दवाव सिर्जना भएको छ ।
धुनिबेँसीका मेयर बालकृष्ण आचार्यले आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए । नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । सो निर्णयलाई काठमाडौं महानगरले पनि स्वागत गरेको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरुले बताएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले फोहोर व्यवस्थापनको समाधान नहुँदासम्म संचारमाध्यममा अन्तर्वार्ता नदिने बताएका छन् भने खादा माला पनि नलगाउने घोषणा गरेका छन् । नुवाकोटबासीको पटकपटकको अवरोधका कारण काठमाडौंभित्रै फोहोरको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने आवाज उठिरहेको छ । तर ठोस प्रगति हुन सकेको छैन । यसरी हेर्दा बालेन शाहले खादा माला लगाउने र संचारमाध्यममा अन्तर्वार्ता दिने अझ टाढिएको छ ।