साउने व्रतको महिमा र सोमबारे औँसीको किस्सा

साझा कथा । साउने सोमबारलाई हिन्दुहरुले ठूलो महत्वका साथ हेर्छन् । यस बर्ष साउनको पहिलो दिन नै सोमबार परेको छ । त्यसैमाथि औँसी । यो गज्जबको संयोग विरलै हुन्छ । साउनको पहिलो सोमबार बिहानैदेखि विभिन्न मन्दिरहरुमा भक्तजनको ठूलोे भिड लागेको छ ।

साउनको सोमबार व्रत बस्नाले भगवान शिवको प्रिय हुने विश्वास रहदै आएको छ । साथै अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको धेरै भिड लाग्ने गर्छ ।

साउने व्रतको महिमा
असार महिनापछि श्रावण अथवा साउन महिना सुरु हुन्छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यस महिनालाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरू पर्दछन । यो महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिएको छ, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रहीआएको छ । विवाहित महिलाहरुले पनि श्रीमानको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

पौराणिक कथा अनुसार श्रावण महिनाबारे व्याख्या यसरी गरेको पाइन्छ – यो महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको थियो । संसारलाई रक्षा गर्नका लागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर बसेका थिए । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुतेका र विषको असर कम भएको बताइन्छ । यसरी विषको प्रभावमा रहेका शिवलाई खुशी पार्न यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाउने गरिन्छ । यसो गर्दा शिव प्रशन्न हुने मान्यता रहदै आएको छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदी लिएर हिँडेका भगवान शिव आफै जल भएको उल्लेख गरिएको छ ।
सोमबारे औँसीको किस्सा
आज सोमबारे औँसी हो । सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ । यो पर्व स्नान वा दान दिनका लागि शुभ मानिन्छ । आजको दिनमा स्नानको लागि मात्र विभिन्न तीर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन् । हिन्दु धर्मावलम्बी अनुसार आजको दिन सोमबारे औँसीको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ । महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको बताइन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?