Ad Banner

लम्पी स्किनको देशैभर प्रभाव – भइसक्यो ३९ अर्बको क्षति, भयावह हुँदैछ समस्या

साझा कथा । पशुमा लाग्ने रोक लम्पी स्किनको प्रभाव नपरेको जिल्ला कुनै पनि छैन । नेपालमा तीन बर्षअघि देखापरेको लम्पी स्किनले महामारीको रुप लिइसकेको छ तर रोकथामको लागि प्रभावकारी पहल हुन सकेको छैन । पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका देखिएको लम्पी स्किन २०७७ अन्त्यसम्म आठ जिल्लामा फैलिएको थियो तर क्षति दर धेरै थिएन । ०७८ को अन्त्यसम्म आउँदा १७ जिल्ला पुगेको लम्पी स्किन ०८० को असार सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएको छ । महामारीका रूपमा फैलिए पनि कानुनी प्रावधान नहुँदा किसानले क्षतिपूर्ति पाएका छैनन् ।

लम्पी स्किनको सङ्क्रमणको असर चौतर्फी देखिन थालेको छ । मुख्य खेती हुने सिजनमा गोरुलाई लम्पी स्किनले सताउँदा समयमै खेती हुन सकेको छैन । लाखौँ किसानसँग प्रत्यक्ष रोजगारी भएको पशु्पालन क्षेत्रबाट अप्रत्यक्ष रोजगारी गुमाएका छन् भने जीविकोपार्जनको मुख्य स्रोत रहेको पशुपालनबाट विस्थापनको खतराको सङ्केत देखापरेको छ ।

स्थानीय तह तथा प्रदेशबाट एकीकृत तथ्याङ्क सङ्कलन नहुँदा रोगले पारेको क्षतिको यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म ७७ जिल्लाका सात लाख ९९ हजार ११७ पशु यो रोगबाट सङ्क्रमित छन् भने २८ हजार ४२४ पशु मरेका छन् । भैँसीको तुलनामा गाईगोरुमा धेरै सङ्क्रमण देखिएको छ र मर्नेमा पनि भैँसीको सङ्ख्या निकै कम छ ।

दुध उत्पादन, कृषि उत्पादन र जीविकोपार्जनमा यसले पार्ने प्रभाव ठुलो छ। नेपालका लागि कोभिड–१९ का कारण पुगेको क्षतिकै हाराहारीमा यसको असर देखिने सम्भावना छ ।

यो त पशुको मृत्युको सङ्ख्या मात्रै हो । यसबाट किसानमा परेको मार र राज्यले बेहोर्ने आर्थिक भार बेग्लै छ । लम्पीबाट अहिलेसम्म ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ रुपियाँको क्षति भइसकेको छ । एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिएको हो ।

पशु विज्ञहरुका अनुसार लम्पी लागिसकेपछि निको भए पनि उक्त पशुको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ । त्यसले पूर्ववत् जीवन जिउन र काम दिन सक्दैन । लम्पी सङ्क्रमित पशुको एकीकृत र खण्डित तथ्याङ्क अझै आएको छैन । दुध उत्पादन, कृषि उत्पादन र जीविकोपार्जनमा यसले पार्ने प्रभाव ठुलो छ। नेपालका लागि कोभिड–१९ का कारण पुगेको क्षतिकै हाराहारीमा यसको असर देखिने सम्भावना छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलका अनुसार लम्पी सङ्क्रमणले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समेत असर पारेको छ । गोठमा भएको एउटा गाई मर्दा किसानले आर्थिक रूपमा मात्रै नभएर धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा समेत क्षति बेहोर्ने उनको भनाई छ ।

महामारीको स्वरूप धारण गरिसकेको यो सङ्क्रमणले कति क्षति पु(याउने हो, त्यसको यकिन विवरण तीनै तहका सरकारसँग छैन । सरकारले त्यसको प्रभावकारी नियन्त्रणका लागि ठोस कदम चाल्न नसक्दा लाखौँ किसान अझै जोखिममा छन् ।

यो पढ्नु भयो ?