नेपालबाट भारततिर भइरहेको छ गोलभेँडा, बन्दा र काँक्रो तस्करी

भारतबाट नेपालमा कृषिउपजहरु तस्करी हुने वा कालोबजारीहरुले चलखेल गर्ने अनौठो होइन । तर नेपालबाट भारतर्फ गोलभेँडा तस्करी हुनु भने आश्चर्यजनक छ । भारतमा गोलभेँडाको मूल्य अकासिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमामा यसको तस्करी बढेको छ । भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ ।

यसले सर्वसाधारणलाई मार पारे पनि तस्करहरूले भने कमाउने अवसर पाए जस्तो देखिन्छ । हालै झन्डै ३,००० केजीभन्दा बढी टमाटर भरिएका दुईवटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।

पश्चिम नेपालको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरी त्यहाँका तरकारी व्यवसायीले नेपालबाट ठूलो परिमाणमा टमाटर भारत पठाउने गरेको बताउँछिन्। नेपालगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँजति छ । सीमापारि भारतमा त्यसको मूल्य ३२० रुपैयाँ ९२०० भारतीय रुपैयाँ० रहेको व्यवसायीहरू बताउँछन् ।

सल्यानको कपुरकोटबाट ट्रकमा ढुवानी भएर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए ।

झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको उनले बताए । नेपालगन्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने गरेको बताइन् ।

तर उनका अनुसार अहिले नेपालगन्ज भन्सार कार्यालयले गरेको कडाइका कारण गोलभेँडा निकास गर्न कठिन भएको छ ।

उत्तर प्रदेशको महाराजगन्ज जिल्लाका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा जुन महिनादेखि गोलभेँडा तस्करी भइरहेको छ । पत्रकार सोनीलाई सीमामा गोलभेँडा तस्करी गर्ने एक युवाले बताएअनुसार “नेपालमा गोलभेँडा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँमा पाइन्छ।”

ती युवक भन्छन् , “नेपालको रूपन्देही, सल्यान र अर्घाखाँचीका बजारबाट गोलभेँडा किनेर भारत पठाइन्छ । भारतका महाराजगन्ज र गोरखपुरको तरकारीबजारमा प्रतिकिलो ७० देखि ८० भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ ।”

नेपालमा गोलभेँडा खेती ठूलो मात्रामा हुने र भारतीय बजारमा अहिले मूल्य बढेकाले मात्रै नेपालबाट गोलभेँडा तस्करी हुने गरेको स्थानीय पत्रकारहरू बताउँछन् । हाल गोलभेँडा मात्र नभई बन्दा र काँक्रो पनि तस्करी हुने गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?