..जहाँ निजी विद्यालय नै छैनन्, विद्यालय खोल्ने क्रम रोकिँदै

साझा कथा । सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किँदा नेपालमा निजी विद्यालयहरुको बाढी आयो । निजी विद्यालयको बोलवाला पछि सामुदायिक विद्यालयको स्तर झन् खस्कियो । खासगरी विद्यार्थीकै अभाव र सरकारी वेवास्ताका कारण सामुदायिक विद्यालय शिक्षकहरुको लागि जागीर खाने थलो मात्रै बन्यो । अहिले पनि देशैभर हजारौँ निजी स्कुल छन्, जसले अत्याधिक महंगोमा विद्यार्थीहरु पढाइरहेका छन् । सँगै केहि बर्षयता नेपालका विभिन्न सामुदायिक विद्यालयको गुणस्तरमा पनि चामत्कारिक सुधार आएको छ । निजी विद्यालयसँग प्रतिष्पर्धा हुन थालेको छ । सामुदायिक विद्यालयप्रति अभिभावकहरुको पनि धारणा बदलिन थालेको छ ।

यसैबीच लुम्बिनी प्रदेशको पाल्पास्थित पूर्वखोला गाउँपालिका निजी विद्यालय बनेको छ । त्यहाँ निजी विद्यालय सञ्चालनमा छैनन् । नयाँ संविधानअनुसार विद्यालय शिक्षा आफ्नो मातहतमा आएपछि गाउँपालिकाभित्र रहेका पाँचवटा निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिएको उक्त गाउँ पालिकाका प्रवक्ता मेहर सिंह थापाले बताए ।

सबै सामुदायिक विद्यालयले अहिले अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् । गाउँपालिका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन केन्द्रित भएको छ ।
उनन्चालीसवटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाले स्थानीय सरकारका रूपमा आफूले पाएको कानुनी अधिकार प्रयोग गर्दै निजी विद्यालयका झन्डै साढे ६ सय विद्यार्थीलाई सरकारी विद्यालयहरूमा ल्याएको हो ।
सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारहरूले सामुदायिक शिक्षामा आफ्नो प्रभाव विस्तार गर्न चालेको एउटा कदमका रूपमा उक्त घटनालाई कतिपय विज्ञहरूले प्रस्तुत गर्ने गरेका छन्।

प्रवक्ता थापाका अनुसार विज्ञहरूको टोलीले शिक्षा सुधारका विषयमा अध्ययन गर्दा निजी र सामुदायिक विद्यालयहरूबीच एक किसिमको द्वन्द्व देखा परेपछि त्यसबेला विद्यालय गाभ्ने निर्णय गरिएको थियो । २०७२ सालमा जारी भएको संविधानले आधारभूत र माध्यमिक शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल भन्छन्, “स्थानीय सरकारहरू अस्तित्वमा आएपछि विद्यालयहरूमा पहिलाको भन्दा बढी लगानी भएको छ। पहिला धेरै विद्यालय खोलिए तर अब विद्यालयहरू खोल्ने क्रम रोकिएको छ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?