साझा कथा । नेपालमा बेला बेला अवैध सुन भित्रिएको घटनाले बजार तताउने गर्छ । ३३ किलो सुनसम्म पक्रिएका घटनाको पटाक्षेप हुन बाँकी रहँदै फेरि झण्डै १ क्विन्टल सुन समातिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङ्कङ हुँदै नेपाल आएको प्रारम्भिक जानकारी आएको छ ।
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण विहीबार यकिन गर्दै छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरेको थियो । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता छ । यसमा एक जना मात्रै संलग्न हुने कुरै भएन । त्यसकारण अघिल्ला पटक बरामद गरिएका सुनसँग यो प्रकरणको साइनो छ कि छैन भन्दै प्रहरीले अनुसन्धान गर्न थालेको छ ।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने हुन्छ । एक अर्बभन्दा बढी पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतको दाबी छ । नेपालमा सामसुङ कम्पनीका आधिकारिक विक्रेता मलहोत्रा मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष हुन् । मोवाइल बजारमा ५ बर्षदेखि एकछत्र राज जमाइरहेका मलहोत्राले नै १ अर्ब ३० करोडको लगानीमा निर्माण गरेका हुन्, काठमाडौंको कालिकास्थानमा रहेको अग्लो सिल्भर सिटी अपार्टमेन्ट । तर त्यहाँबाट उनले घाटा व्यहोरेपछि उनी अन्य व्यवसायमा सक्रिय छन् । एमाले निकट व्यवसायी मलहोत्रा हङकंङबाट विभिन्न मोटर तथा ईलेक्ट्रोनिक्स पार्टस ल्याएर व्यापार गर्छन् ।
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । बूढानीलकण्ठमा रहेको ‘रेडी ट्रेडर्स प्रा.लि.’का नाममा आएको उक्त परिणामको सुन बरामद प्रकरणमा पक्राउ पर्नेहरूमा रेडी ट्रेडर्स प्रा.लि.का सञ्चालक दोलखाको मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल रहेका छन् ।
क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । तर, यति ठूलो मात्रामा आएको सुन विमानस्थलबाट जाँचपास हुनाले ठुलो प्रश्न खडा भएको छ । यो तस्करीमा ठुलै गिरोहको संलग्नता रहेको बताइन्छ ।
भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् । अन्य सामानमा सुन मोरेर ल्याइएकाले भन्सार जाँचपासमा पत्ता नलागेको हुन सक्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको तर्क छ । कुख्यात विकिनी किलर चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउन सकिन्छ भन्ने गर्थे । विमानस्थल भन्सारको कमजोर व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीहरु नै बेला बेला अनियमिततामा मुछिने गरेका घटना त हामीले देख्दै आइरहेका छौँ । यस्तो अवस्थामा महानिर्देशक पौडेलको तर्कमा विश्वास गर्न सकिने आधार भने छैन ।
यद्यपी प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ ।