साझा कथा । झण्डै १ क्विन्टल सुन समातिएपछि विभिन्न अड्कलबाजीसँगै केहि रहस्यहरु उदघाटन भइरहेका छन् । भन्सार विभागको सक्रियतामा यति ठूलो मात्रामा सुन बरामद भएपनि समाचार पढ्नेहरुले बुझेका छन्, प्रहरी प्रशासनले सुन समात्यो । तर यसमा प्रहरी प्रशासन कतै संलग्न छैन । यतिसम्मकी सुन समातिएको कुरा प्रहरी अधिकारीहरुले समाचार हेरेर मात्रै थाहा पाएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत यस प्रकरणमा त्यति धेरै जानकार थिएनन् । यति ठूलो अपराधिक घटनामा गृह प्रशासन र प्रहरी किन बेखबर भयो होला ?
त्यसो त, तस्करी गरी नेपाल भित्रिएको करीब सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो गोदाममा पाँच दिनसम्म राखिएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ८ दिनअघि नै प्रधानमन्त्री कार्यालयमा सुन तस्करीको सूचना पुगेको थियो । अटो मोटर पार्टसमा लुकाएर सुन तस्करी हुने गरेको सूचनाका आधारमा प्रधानमन्त्री कार्यालयले सुटुक्क भन्सार विभागलाई सक्रिय बनाएको थियो । भन्सार विभागको महानिर्देशकमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा रहेका नवराज ढुंगाना छन् । उनलाई प्रचण्डको विश्वासपात्रको रुपमा चिनिन्छ । उनै ढुंगाना नेतृत्वको भन्सार विभागले बुधबार बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट मोटरसाइकल र स्कुटरमा लाग्ने ब्रेक शुभित्र लुकाएको सुन बरामद गरेको हो । विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत छ । सुन तस्करी लगायतका गम्भीर प्रकृतिको संगठित अपराधको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने गर्छ । तर यो प्रकरणमा प्रहरी बेखबर छ ।
यसअघि चीन हुँदै नेपाल भित्रिएको ३५ किलो अवैध सुन काण्डमा एक प्रहरी अधिकारीले सुन तस्करीको सूचना दिने नक्कली सूचनादाता बनाएर कमीसन दाबी गरेका थिए । यस सम्बन्धमा अनुसन्धान विभागका तत्कालीन डीआईजी प्रकाश अर्यालसँग अख्तियारले बयान समेत लिएको थियो ।
यसअघि भएका सुन काण्डमा प्रहरीका केहि अधिकारीहरु पनि मुछिएका छन् । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरिने सुन तस्करीमा प्रहरीका उच्च अधिकारीहरु पनि मुछिने र उनीहरुमाथि कारबाहि पनि हुँदै आएको छ । यसअघि चीन हुँदै नेपाल भित्रिएको ३५ किलो अवैध सुन काण्डमा एक प्रहरी अधिकारीले सुन तस्करीको सूचना दिने नक्कली सूचनादाता बनाएर कमीसन दाबी गरेका थिए । यस सम्बन्धमा अनुसन्धान विभागका तत्कालीन डीआईजी प्रकाश अर्यालसँग अख्तियारले बयान समेत लिएको थियो ।
यस्तै ३३ किलो सुन काण्ड (जहाँ सनम शाक्यको हत्या भएको थियो र गोरे भनिने चुडामणि उप्रेति पक्राउ परेका थिए), त्यसमा पनि केहि प्रहरी अधिकारीहरु मुछिएका थिए । विमानस्थलका लोडरले त आत्महत्या नै गरेका थिए । त्यो प्रकरणमा २७ जना पक्राउ पर्दा पूर्व डीआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी संजय राउत र प्रजित केसी लगायत प्रहरी हिरासतमा छन् । यसअघिका सुन तस्करी प्रकरणमा केहि वरिष्ठ अधिकारीहरु उम्कन सफल भएको गुनासो पनि सुनिन्थ्यो । सुन तस्करसँग नेपालको प्रहरीको राम्रो कनेक्शन हुने गरेको बताइन्छ ।
यसअघिका सुन तस्करी प्रकरणमा केहि वरिष्ठ अधिकारीहरु उम्कन सफल भएको गुनासो पनि सुनिन्थ्यो । सुन तस्करसँग नेपालको प्रहरीको राम्रो कनेक्शन हुने गरेको बताइन्छ ।
अहिले पनि झण्डै १ क्विन्टल सुन बरामद भएको यो प्रकरणमा प्रहरी अधिकारीहरु पनि संलग्न देखिएपछि प्रहरीलाई खबर नै नगरी प्रधानमन्त्री कार्यालयले भन्सार विभागलाई सक्रिय गराएको स्रोत बताउँछ । प्रहरीलाई परिचालन गर्न खोज्दा सूचना चुहिएर सुन नै उम्कन सक्ने खतरा देखिएपछि भन्सार विभागलाई गोप्य रुपमा अपरेशन चलाउन भनिएको स्रोत बताउँछ ।
महानिर्देशक ढुंगानाले नै भनेका छन्, ‘यो विभागको अति विशेष अप्रेशन थियो । सुन पास गराउन सूचना चुहिने आशंकामा पनि यसो गरिएको हो । यो कुरामा प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । उहाँले जस्तोसुकै परिस्थितिमा अघि बढ्नुस् भन्ने आदेश दिनु भएको छ । विभागका योग्य र दक्ष हाम्रा निर्देशकहरु, कर्मचारीहरु सबै यो सफलताको भागीदार हुनुहुन्छ ।’
यो प्रकरणको रहस्य खुल्दै जाँदा केहि प्रहरी अधिकारीहरु पनि पक्राउ पर्न सक्ने स्रोत बताउँछ ।