सुनको विषयमा राष्ट्रिय सभामा छलफल, एअरपोर्टको डिटेक्टर किन कराएन ?

साझा कथा । राष्ट्रिय सभा बैठकमा एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयमा छलफल भएको छ । राष्ट्रिय सभा सदस्यहरुले १०० किलो सुन छिर्दा एयरपोर्टको डिटेक्टर किन कराएन भन्दै प्रश्न गरेका छन् । एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा प्रश्न उठाउँदै सांसदहरुले त्यसको छानविन हुनुपर्ने माग गरे ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले चार्ल्स सोभराजले त्रित्रुभन विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताए ।

३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिलिएको रायमाझीको भनाई थियो ।

‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ रायमाझीले भने, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’ यसमा भन्सारका कर्मचारीहरुको भूमिका शंकास्पद रहेको उनको भनाइ थियो ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । सुन भित्र्याउँदा मोटर साइकल र स्कुटरको ‘ब्रेक शू’भनेर भन्सार छलि भएको र एक, डेढ महिनामा यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको उल्लेख गर्दै भट्टराईले भने, ‘अब निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाए । त्रिभुवन विमानस्थलमा आवश्यक भन्दा बढी कर्मचारी समेत रहेको उनले बताए । प्रयाप्त कर्मचारी हुँदा समेत अवैध सुन आयात हुनुले नेपालको शान्ति सुरक्षामा प्रश्न उठाएको बताए ।

तथापि, अवैध सुन बरामद हुनुले सबैतिर मिलाए पनि कतै न कतैबाट अपराध बाहिर आउँछ भन्ने समेत पुष्टि भएको उनले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?