साझा कथा । तस्कर र माफियाहरुले कुन हदसम्म अपराध गरेका छन् भन्ने बुझ्न पछिल्लो सुन काण्ड नै काफी छ । उनीहरुकै कारण एकजना मजदुर हिरासतमा बसिरहेका छन् । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो । सो सुन मोटरसाइकल र स्कुटरमा लाग्ने ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक शु’ आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालि थियो ।
कम्पनीका मालिक हुन् दोलखा शैलुङ गाउँपालिकामा पर्ने पवटी गाउँका दिलीप भुजेल जो आफैँमा मजदुर हुन् । उनी काठमाडौंको साँखुमा मजदुरी गर्छन् जसको परिवारमा दुईछाक खानको लागि नै दैनिक मजदुरी गर्न पर्दछ । तर नेपालका केहि व्यापारीहरुले भुजेलको नाममा कम्पनी खडा गरेर तस्करी गर्दै आएको खुलासा भएको हो । उनै भुजेल अहिले हिरासतमा छन् ।
उनकै नामको कम्पनीले सुन तस्करी गर्ने गरेको खुलासा भएपछि उनी पक्राउ नपर्ने कुरै भएन । तर उनलाई आफू किन हिरासतमा गएँ भन्ने सायद थाहा पनि छैन होला । उनलाई त २० हजार रुपैयाँको प्रलोभन दिएर कम्पनी खडा गरिएको थियो । उनको नागरिकता प्रयोग गर्दै हस्ताक्षर गराइएको थियो । भुजेलको नाममा रहेको सोही कम्पनीले हालसम्म २८ पटक सामानहरु आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक शु सँगै दारी काट्ने मेसिन पटक–पटक ल्याएको देखिएको हो । कम्पनीको नाममा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
१५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको पाइएको छ । एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको थियो । कम्पनीले त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो ।
कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिएको छ । कम्पनी दर्ता भएकै तीन महिनामा झण्डै एक क्वीन्टल बढी तस्करीको सुन भेटीएपछि यो कम्पनीले आयात गरेका अन्य समानहरुमा आशंका पैदा भएको हो ।