गुमराहमा रहेनछन् गृहमन्त्री – “खुमलटार, बालकोट र माओवादीकै भएपनि छोड्दिन”

साझा कथा । बुधबार त्रिभुवन विमानस्थलबाहिर झण्डै १ क्विन्टल सुन बरामद भएपछि गृहमन्त्रीलाई गुमराहमा राखेको भन्दै केहि व्यक्तिहरुबाट टिप्पणी गरिएको थियो । खासगरी प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वमा सुन तस्करहरुलाई समाउन गरिएको अप्रेशनले गृहप्रशासनलाई वेवास्ता गरेको आशयसहितका टिप्पणी उठेका थिए । यो प्रकरणमा प्रहरीको संलग्नता नरहेपछि गृहमन्त्री र प्रहरी प्रशासन सन्तुष्ट नरहेको अड्कलबाजी गरिएको पनि थियो ।

तर शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना अभिव्यक्तिबाट सो आशंकाको खण्डन गरे । श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने उल्लेख गरे । साथै पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए । यसबाट उनी यो प्रकरणबारे जानकार रहेको र केहि संचारमाध्यम र व्यक्तिहरुले भनेझै उनी गुमराहमा नरहेको र प्रकरणसँग असन्तुष्ट नरहेको देखिन्छ ।

‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए ।

यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे । एक पत्रकारले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको भन्ने चर्चा रहेको भन्दै राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने । उनले टार भनेर बालुवाटार, खुमलटारलाई संकेत गरेका हुन् भने कोट भनेर बालकोटतर्फ संकेत गरेका हुन् । यस्तै आफ्नै पार्टी माओवादीका नेता संलग्न भएपनि नछाड्ने उनको दृढता थियो ।

बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि त्यसबारे बुझ्न गृहमन्त्री विमानस्थलमा पुगेका थिए । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन् । श्रेष्ठले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रको अनुगमन समेत गरे । अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भइरहेको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?