३ बर्षमा लाग्ने ‘पुरुषोत्तम मेला’ (फोटो कथा)

साझा कथा । अतिरिक्त महिना मलमासमा विशेष मेला लाग्दै आएको काठमाडौं चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ चलिरहेको छ । साउन २ गतेबाट सुरु भएको मेला अवलोकन गर्न र मन्दिर दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु जाने गरेका छन् । काठमाडौँको मध्यभागबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् ।

पोखरीले घेरिएको मत्स्यनारायण मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

पोखरी अगाडि जलाशयमा मत्स्यकुण्ड अवस्थित शिवलिङ्ग छ । मन्दिरभित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।

तस्बिरः धर्मेन्द्र महर्जन/साझा कथा 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?