Ad Banner

एक मात्र बच्चामा सिमित हुँदै दम्पत्तीहरु, आखिर किन ? यी हुन् पाँच कारण

साझा कथा । मान्यजनहरुबाट दशैँको टिका थाप्दा पाउने आशिर्वादमध्ये एउटा थियो, ‘सन्तानले डाँडाकाँडा ढाकून्’, ‘परिवार दुबो झै मौलाइरहोस्’ । तर यो आशिर्वाद आजभोली लोप हुँदै गएको छ । हजुरबुबाको पुस्ताले पनि यो आशिर्वाद दिन छाडिसके र आशिर्वाद लिनेलाई यो कुराले कटक्क मन खान्छ । सन्तानले डाँडाकाँडा कसरी ढाकून् ? मानिसहरु चार आनामा सिमित हुन थालेका छन् । भएका जग्गाहरु कि त बाँझै छोडेर शहरतिर हिँडेका छन्, कि ती जग्गा घडेरीमा रुपान्तरण भएर विक्रि भइसके । पछिल्लो समय नेपाली बाबु आमाहरु एक मात्र सन्तानमा रमाउन थालेका छन् । उनीहरु धेरै सन्तानको झन्झटबाट मुक्त हुन खोजिरहेका छन् । फलतः नेपालमा प्रजननदर ह्वात्तै घटेको छ । संयुक्त परिवारको अभ्यास विलाउँदै गएको छ । दुई सन्तान ईश्वरको वरदान भन्ने उक्ति पनि घटेर अहिले एक सन्तान ईश्वरको वरदान भएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार दुई दशकयता प्रजननदर घटेको छ । सन् १९९६ मा ४.६ मा रहेको प्रजननदर घटेर २.१ मा पुगेको छ । अबको दुई दशकपछिपछि यो दर १ मा पुग्ने प्रक्षेपण गरिएको छ ।
पछिल्लो पुस्ता किन एक सन्तानमा सिमित हुन थाल्यो ? यसका पछाडी कैयौँ कारण छन् । तीमध्ये हामी यहाँ ५ वटा कारणबारे चर्चा गर्दैछौँ ।
१. आर्थिक अवस्था
२५–३० बर्षअघिसम्म हामी गाउँघरमा देख्थ्यौ, एउटै घरमा १ दर्जन छोराछोरी । १ दर्जन नभएपनि अधिकाँश परिवारमा ३ देखि ४ सन्तान हुन्थे । उनीहरु सबैको शरिरमा राम्रै लुगा हुन्थ्यो, उनीहरुले मिठै खाएका हुन्थे । स्कुल गएकै हुन्थे । उनीहरुको हेरविचार पनि राम्रै भएको हुन्थ्यो । आमा बुबालाई हुर्काउन जरुर समस्या त थियो नै तर अहिलेजस्तो हम्मेहम्मे थिएन । आफ्नै खेतमा फलेको धान, गहुँ, बारीमा फलेको सागपात र अन्य तरकारीले उनीहरुलाई खुवाउन पुग्थ्यो । तर अहिले अवस्था बदलिएको छ । अधिकाँश मानिसहरु सहरकेन्द्रित हुन थालेका छन् । गाउँको खेतबारी कि बाँझै छोडिएको छ या त बेचिसकिएको छ । पहिले थोरै आम्दानीले पनि १ दर्जन सन्तान पाल्न मुस्किल थिएन तर अहिले १ जना बच्चा हुर्काउन महिनामा २० औँ हजार खर्च हुन थालेको छ । बढ्दै गएको जनसंख्याले पहिले जस्तो उही परिमाणको खाना र बस्तुहरुले पुग्ने अवस्था छैन । मूल्यवृद्धि र आयमा सन्तुलन छैन । नेपाली परिवारको बदलिँदो सामाजिक/आर्थिक अवस्था र आम्दानी तथा खर्चबीच तादम्यता नहुँदा अधिकाँश दम्पत्ती अहिले धेरै सन्तान जन्माउन चाहदैनन् । पहिलेको तुलनामा हरेक उपभोग्य सामानको भाउ आकाशिएको छ तर आय खुम्चिएको छ । जीवनयापन महंगो हुँदै गएको छ । आर्थिक अवस्था राम्रै भएको घरमा पनि धेरै सन्तानको चाहना छैन, किनकी समस्याग्रस्त विश्व अर्थतन्त्रका कारण अहिलेको आम्दानी दीगो हुने विश्वास छैन ।

२. व्यस्तता
दुई दशकअघिसम्म मानिसहरु अहिलेजस्तो अति व्यस्त थिएनन् । व्यस्त भएपनि दम्पत्तीमध्ये एक जना मात्रै हुन्थ्यो । तर पछिल्लो समय दम्पत्ती नै काम गरिरहेका हुन्छन्, विहानदेखि साँझसम्म कार्यालय, बैठक, छलफल लगायतमा व्यस्त हुन थालेका छन् । कतिपय जोडीको त जागीर समेत फरक फरक जिल्लामा हुन्छ जसले उनीहरुबीच चाहेर पनि भेट हुन पाइरहेका हुँदैन । यस्तो अवस्थाका बीच धेरै सन्तान जन्माएर उनीहरु अल्मलिन चाहदैनन् । पुस्तान्तरणको लागि १ सन्तान जन्माउन कर लागेपनि थप सन्तान जन्माउन उनीहरुलाई चाह छैन । १ सन्तानलाई जतिसक्दो छिटो स्कुल भर्ना गराइदिएर आफ्नो नियमित काम र दैनिकीमा फर्कन चाहन्छन् दम्पत्तीहरु ।

३. खण्डिकृत परिवार र व्यक्तिगत स्वतन्त्रता
पहिले हजुरबुबाको पुस्तादेखि नातिपुस्तासम्म एउटै घरमा, एउटै भान्सामा भेटिन्थे । तर विस्तार परिवार खण्डित हुँदै गयो । हजुरबुबा पुस्तालाई गाउँमा छोडेर बुबापुस्ता सदरमुकाम झर्यो । बुबापुस्तालाई जिल्लामै छोडेर नातिनातिना पुस्ता राजधानी वा विदेश पुग्यो । यसले गर्दा संयुक्त परिवार टुक्राटुक्रा भयो । सहरको कुनै कुनामा सिमित कोठामा बसिरहेको एउटा जोडीलाई २ वा दुई भन्दा बढी सन्तान जन्माएर हुर्काउनै मुस्किल छ । दुबैजना जागीरे भए झन् समस्या, घरमा बच्चाको हेरविचार गरिदिने कोही छैन । केहि महिनाका लागि आउने आमाबुबा गाउँ फर्केपछि कसले हेरिदिने ? संयुक्त परिवारमा बालबच्चाले राम्रो स्याहार पाउँछन्, एक जनाको अनुपस्थितिमा अर्कोले बच्चाको ख्याल राखिदिन सक्छ तर अहिले त्यस्तो अवस्था छैन । सँगै अहिलेको पुस्तामा व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने चाहना बढ्दै गएको छ । सामूहिकता भन्दा व्यीक्त केन्द्रित विचारहरु निर्माण भइरहेका छन् । संयुक्त परिवार छोडेर सानो परिवारप्रति आकर्षण बढ्दो छ । सामूहिकता, परिवार र समाजप्रति उसका दायित्व साँघुरिदै गएका छन् । वैयक्तिक मनोरञ्जन र व्यक्तिगत इच्छाचाहना पुर्ति बाहेक अरु व्यक्तिको भार बोक्न चाहदैन नयाँ पुस्ता । यसका साथै वैदेशिक रोजगारी र विकसित देश पलायनको क्रमले पनि संयुक्त परिवार खण्डित भएको छ । यसले स्वभाविक रुपमा दम्पत्ती पनि खण्डित भएका छन् ।

४. महिलाहरु आफ्नो स्वास्थ्य र जिउडालबारे सचेत
नेपाली समाज ३ दशकको अवधिमा धेरै परिवर्तन भइसकेको छ । व्यक्तिगत चेतना र विचार धेरै परिष्कृत भइसकेको छ । केहि समयअघिसम्म चुलो चौका र घरमै सिमित हुने महिलाहरु अहिले राजनीति, सामाजिक अभियान, जागीर, कला, संगीत तथा मनोरञ्जनको क्षेत्र, कामधन्दामा व्यस्त हुन थालेका छन् । केहि समयअघिसम्म घरमा पुरुष नै सर्वेसर्वा थियो, हरेक निर्णयमा पुरुष नै निर्णायक हुन्थ्यो तर अवस्था फेरिएको छ । महिलाहरु पनि निर्णय क्षमताका साथ अघि बढिरहेका छन् र परिवारमा प्रभाव जमाइरहेका छन् । महिलाहरु अहिले आफ्नो स्वास्थ्यलाई लिएर सचेत पनि छन् । धेरै सन्तान जन्माउँदा आफ्नो शरिर कमजोर हुने उनीहरुको बुझाई छ । साथै शारीरिक सुगठनमा पनि उनीहरु सचेत छन् । धेरै सन्तान जन्माउँदा आफ्नो स्वास्थ्य पनि विग्रने, जिउडाल पनि विग्रने आशंकामा महिलाहरु सन्तान जन्माउन अनिच्छुक छन् । कतिपय महिला त बालबालिका एडप्ट गरेर हुर्काउने निश्कर्षमा पुगिसकेका छन् । कोखभरी र घरभरी छोराछोरी हुनुपर्ने परम्परागत बुझाईलाई अहिलेको पुस्ताले नकार्न थालेको छ ।

५. बाध्यता र पारिवारिक दवाव
दुई तीन दशकअघि नेपालमा व्याप्त बाल तथा शिशु मृत्युदर अहिले निक्कै घटेको छ । जति बच्चा जन्मिन्छन् सबै बाँच्छन् भन्ने निश्चित भएपछि धेरै जन्माउन चाहँदैनन् दम्पत्तीहरु । पारिवारिक विरासत कायम राख्न र पुस्ता विस्तार गर्न धेरै सन्तान जन्माउनुपर्ने बुझाई रहेकोमा अहिले सो बुझाई माझिएको छ । हजुरबुबादेखि बुबा पुस्तासम्मले आफ्ना सन्तानलाई कुनै करकाप वा दवावविना स्वतन्त्र छोडिदिँदा नयाँ पुस्ताका दम्पत्तीहरु बच्चा जन्माउने मामलामा स्वतन्त्र भएका छन् । उनीहरुलाई बच्चा पाउनैपर्ने बाध्यता पनि छैन, पारिवारिक दवाव पनि छैन ।

यो पढ्नु भयो ?