लचिलो आयो मौद्रिक नीति, बैँकिङ क्षेत्र र शेयर बजारमा खुशीयाली

साझा कथा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गरेको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार र तरलता सहज भएपछि केन्द्रीय बैंकले तुलनात्मकरुपमा लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । प्रमुख चासोका रुपमा हेरिएका सेयर बजार, घर जग्गा र हायर पर्चेज क्षेत्रमा राहत हुने गरी मौद्रिक नीति ल्याइएपछि सो क्षेत्रमा खुशीयाली छाएको छ । यी ३ वटै क्षेत्रमा हाल कायम धितो कर्जाको जोखिम भार घटाउने घोषणा गरिएको छ ।

हाल सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् । यस्तै, केन्द्रीय बैंकले नीतिगत दर पनि घटाएको छ । ब्याजदर घटाउने नीति पनि केन्द्रीय बैंकले लिएको छ । घर कर्जाको सीमा बढाएर २ करोड पुर्याइएको छ । यसअघि डेढ करोडमात्र थियो । यो व्यवस्थाले हाल रोकिइरहेको कर्जाको अवस्था चलायमान हुने अपेक्षा गरिएको छ ।

त्यस्तै चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई पुनरावलोकन गर्ने भनिएको छ । निर्देशित कर्जाका विषयमा पनि पुनरावलोकनको व्यवस्था गरिएको छ । सानो ऋणको सीमा बढ्न सक्ने देखिएको छ जसले सकारात्मक प्रभाव पर्नेछ ।

मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूह बढेका छन् । त्यसमध्ये पनि वाणिज्य बैंक र विकास बैंक समूहहरु अझ बढी चम्किएका छन् ।

मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ । जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ । यही कारण आइतबार सेयर बजारमा उत्साह आएको हो ।

नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ जुन सुविधा पहिलो पटक घर कर्जा लिंदा मात्र लागू हुनेछ । यी सबै व्यवस्थाले अहिले वित्तीय बजारमा देखिएको निराशालाई उत्साहमा बदल्छ । भोलि यी व्यवस्था कसरी कार्यान्वयन हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?