Ad Banner

खाँणको बचाउमा उत्रियो काँग्रेस, निलम्बन नहुने सम्भावना

साझा कथा । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण अहिले पुर्पक्षका लागि जेलमा छन् । गत बैशाख २७ गते पक्राउ परेका उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै असार १ गते मात्रै पुर्पक्षका लागि जेल चलान गरिएको हो । बैशाखमा पक्राउ पर्ने वित्तिकै नेपाली काँग्रेसले खाँणलाई निलम्बन गर्नुपर्ने आवाज नउठेको होइन । तर काँग्रेसले यसमा निर्णय गर्न सकेन । भ्रष्टाचार र मानव बेचविखन जस्तो जघन्य अपराधमा दोषी देखिएर असारमा थुनामा गएपछि काँग्रेसले स्वभाविक रुपमा निलम्बन गर्नुपर्ने थियो । काँग्रेसका अधिकाँश नेता कार्यकर्ता उनलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेपनि नेतृत्वले तदारुकता देखाएन ।

खाँण जेल परेपछिको १ महिनामा बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिले यो विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर सम्भावना न्यून देखिएको छ । केन्द्रीय समिति बैठकमा कांग्रेसका संस्थापन पक्षधर नेताहरूले थुनामा रहेका केन्द्रिय सदस्य समेत खाँणको बचाउ गरेका छन् । नक्कली शरणार्थी प्रकरणबारेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनीहरू खाँणको बचाउमा उत्रिएका हुन् ।

२ गते देखी जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका सदस्यहरू खाँणको बचाउमा खुलेरै लागेका छन् । आइतबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले खाणलाई राज्यले फसाएको आरोप लगाए । उनले खाँणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताएका थिए । सहमहामन्त्री महेन्द्र यादवले पार्टीका ‘जुझारु नेता खाँणलाई राज्यले फसाएको’ दाबी गरे । ‘उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ’ यादवले भने, ‘न कुनै जाहेरी छ, न कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ ।’

त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पनि पार्टी खाँणको पक्षमा उभिनुपर्ने बताइन् । उनले खाँणमाथिको आरोप प्रमाणित गराउन पार्टीकै नेताहरूले दबाब दिएको बताइन् । पराराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले अदालतको फैसला नआउँदासम्म खाणलाई पार्टीले कारबाही गर्न नहुने जिकिर गरे । उनले खाँणलाई लक्षित गर्दै अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने बताए ।

केन्द्रीय सदस्य शेखर कोइरालाले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहिनता बढ्दै गएको बताए । नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै उनले हाल संसदमा रहेको ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ‘२०८००’ तत्काल खारेज गरिनुपर्ने बताए ।

यसअघिका दिनमा बोल्ने नेताहरूले पनि खुलेर खाँणलाई निलम्बन गर्न नहुने मत राखेका थिए । प्रचार विभाग प्रमुख समेत रहेका मीन विश्वकर्माले परिवारको सदस्य कुनै अभियोगमा मुछियो भने वकिल राख्छौं कि थानामा बुझाउन जान्छौं भन्ने प्रश्न गरेका थिए भने गोपालमान श्रेष्ठले उनलाई पक्राउ पर्नबाट रोक्न सकिन्थ्यो, किन रोकिएन भनेर प्रश्न गरेका थिए ।

यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा मौन बसे पार्टीलाई क्षति हुने भन्दै संलग्नलाई कारबाहीसँगै भ्रष्टाचारको विरोधमा अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए । पार्टीको केन्द्रिय समिति बैठक सोमबार पनि बस्दैछ । खाँणलाई निलम्बन वा अन्य किसिमको कारबाहि गर्ने अपेक्षा गरिएको काँग्रेस केन्द्रीय समिति यस विषयमा मौन नै रहने संकेत देखिएको छ ।

यो पढ्नु भयो ?