साझा कथा । आर्थिक अनियमितता, भ्रष्टाचार र मानव वेचविखन जस्ता कार्यहरु गर्नेहरु उपर सरकारले चालेको कदमको प्रशंसा भइरहँदा ती काण्डहरु विभिन्न पार्टीका नेताहरुतर्फ सोझिएपछि भने झमेला सिर्जना गर्ने गरिएको छ । सरकारले फाइल खोलेका विभिन्न काण्डमा काँग्रेस र एमालेका नेताहरु बढी संलग्न भएको देखिएको छ भने पछिल्लो सुन काण्डमा माओवादीका नेताहरुसमेतको नाम मुछिएको छ । यी सबै प्रकरणमा अरु नेताहरु तैँ चुप मैँ चुप जस्तो अवस्थामा भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिहाल्छन् । ठट्यौली भाषण शैलीमा माहिर ओली हरेक प्रकरण बाहिर आउने वित्तिकै रिसाउने गरेका छन् । उनी निकट नेता तथा व्यक्तिहरु विभिन्न काण्डका मतियार देखिँदापनि ओली उनीहरुको बचाउमा उत्रिने गरेका छन् । सरकारले अनुसन्धान अघि बढाएका हरेक प्रकरणमा संलग्न जोसुकै भएपनि कारबाहि गर्न सरकारलाई ढाडस दिनुपर्ने र सहयोग गर्नुपर्नेमा उल्टो उनी आक्रोशित हुने गर्छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र प्रभावशाली नेता बालकृष्ण खाँण पत्नी मञ्जु खाँण समेत मुछिएपछि त्यो काण्ड डाइभर्ट गरियो भन्ने टिप्पणी पनि गरिएको थियो । तर काँग्रेसकै नेता खाँण पक्राउ परेको हुनाले सरकार र काँग्रेसको चर्को विरोध भएन तर एमाले यो प्रकरणमा धेरैको तारो बन्यो । एमालेका सचिव टोपबहादुर रायमाझी पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा जानुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रायमाझीको बचाउ गर्न कुनै कसर बाँकी राखेनन् । तर अन्ततः बुढानीलकण्ठमा लुकिरहेको अवस्थामा रायमाझी पक्राउ परे । त्यसप्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र एमाले उपाध्यक्ष रामबहादुर थापालाई पनि पक्राउ गर्नुपर्ने जनआवाजका बीच ओलीले उनीहरुको संरक्षण गर्न पहल मात्रै गरेनन्, उनीहरुको बचाउमा सार्वजनिक अभिव्यक्ति पनि दिए । यो प्रकरणमा उनी सरकारसँग निक्कै असन्तुष्ट थिए ।
ओली हरेक प्रकरण बाहिर आउने वित्तिकै रिसाउने गरेका छन् । उनी निकट नेता तथा व्यक्तिहरु विभिन्न काण्डका मतियार देखिँदापनि ओली उनीहरुको बचाउमा उत्रिने गरेका छन् । सरकारले अनुसन्धान अघि बढाएका हरेक प्रकरणमा संलग्न जोसुकै भएपनि कारबाहि गर्न सरकारलाई ढाडस दिनुपर्ने र सहयोग गर्नुपर्नेमा उल्टो उनी आक्रोशित हुने गर्छन् ।
‘पशुपतिमा सुनको जलहरी’ काण्ड लगायतमा मुछिएको भन्दै पशुपति विकास कोषका सदस्य सचिव प्रदिप ढकाल पक्राउ परे । शिवलिङ्गमा राखिएको सुनको जलहरी निकालेर जोखियो तर जनताको स्तरमा त्यसले विश्वसनीयता दिएन । सुनको जलहरीमा पूर्वराष्ट्रपतिदेखि तत्कालीन प्रधानमन्त्री ओलीको नाम कुँदिएको फेला परेपछि ओलीले त्यसको बचाउमा अभिव्यक्ति दिए । उनलाई प्रश्न सोध्ने संचारकर्मीलाई झपार्दै ओलीले त्यसप्रकरणसँग जोडेर आफ्नो र संलग्नहरुको बचाउ गर्दै ‘आफूले जलहरी राख्न पैसा मात्र दिएको बाँकी काम आफ्नो नभएको’ भन्दै बचाउ गरे ।
ललिता निवासको जग्गा हिनामिनाको फाइल सर्वप्रथम ओली सरकारकै पालामा खोलिएको थियो । तर सो प्रकरण आफ्नै पार्टीका नेता विष्णु पौडेल लगायततर्फ सोझिएपछि भने अनुसन्धान रोकिएको थियो । अहिले सो प्रकरण पुनः बाहिर आउँदा ओलीले अनावश्यक रुपमा पार्टीको नाम मुछ्ने गरेको भन्दै सार्वजनिक रुपमा रोष प्रकट गर्ने गरेका थिए ।
पछिल्लो १ क्विन्टल सुन प्रकरण हुँदा देश बाहिर रहेका ओली स्वदेश फर्कने वित्तिकै सार्वजनिक रुपमा आफ्नो पार्टीको बचाउमा उत्रिसकेका छन् । यो प्रकरणमा व्यापारी दिपक मलहोत्रा मुछिएका छन् । मलहोत्रा एमाले निकट व्यवसायी हुन् जसलाई ओली सरकारकै पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिसिटिभी राख्नेदेखि अन्य व्यवस्थापनको जिम्मा लगाइएको थियो । मलहोत्राको नामसँग आफ्नो नाम पनि जोडिएपछि ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले सबैको ध्यान अन्त मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने गृहमन्त्रीले अस्वाभाविक रूपमा ध्यान अन्त मोड्न खोजेको बताए । उल्टै उनले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठकै संलग्नता रहेको बताए ।
उनले भने, ‘गृहमन्त्री ‘कोट’को गालामा र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो । गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले बताउनुपर्यो उहाँ आफैँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला । उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा? यतिकै ‘कोट’को गालामा बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु ।’
केहि दिन अघि गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा कुनै ‘कोट’, ‘टार’ वा ‘पार्टी’ संलग्न देखिएपनि कारबाहि भएरै छाड्ने बताएका थिए । कोट भनेर बालकोटलाई इंगित गरेका श्रेष्ठले टार भनेर बालुवाटार र खुमलतटारतर्फ संकेत गरेका थिए ।