गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

साझा कथा । जापानको फुकुओकामा आयोजना भएको २०औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडीबाज खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले ५० मिटर ब्याक स्ट्रोकमा ३१.४४ सेकेन्ड समयमा दूरी पूरा गर्दै गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यस अघि गौरीकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।
ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको आज भएको पुरुष तर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

मङ्गलवार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पुरा गरेकी थिइन् । यस अघि डुवानको व्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरीकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।

अब नेपाली खेलाडीहरूको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रवार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले बताएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?