ललिता निवास प्रकरण – ६ जना व्यापारी भागे, भारतबाट कसले भगायो दुबई ?

साझा कथा । सरकारले विभिन्न काण्डहरुको फाइल खोलेपछि विभिन्न व्यक्तिहरु पक्राउ पर्ने क्रम चलिरहेको छ । पछिल्लो साता चर्चामा रहेको सुन काण्डमा १७ जना पक्राउ परिसकेका छन् भने यसअघि चर्चामा आइसकेका तर अनुसन्धान नसकिएका काण्डहरुमा मुछिएकाहरु पनि पक्राउ पर्ने क्रम जारी छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान कसिलो बनाउन थालेपछि नेपालका प्रख्यात व्यापारीहरु फरार भएका छन् । उनीहरु देशै छाडेर भागेका छन् । सेटिङ मिलाएर ललिता निवासको सरकारी जग्गा न्यून मूल्यमा किनेका ६ जना व्यापारीहरु देश छोडेर भागेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा र न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गरेर उन्मुक्ति पाएकै शैलीमा फुत्किने प्रयास असफल भएपछि उनीहरू देशै छोडेर हिँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी भाग्नेहरूमा सन्दिप सारडा (एनआईसी एसिया बैंकको प्रमोटर र विदेशी मदिराको वितरक), मनोज केडिया (सिद्धार्थ बैंकका अध्यक्ष र श्रीराम मिल्कका मालिक), श्रवण गोयल (सनराइज बैंकको प्रमोटर र हेभी इक्विपमेन्ट इम्पोर्टर), गोविन्द सांघाई (एनएलआइसी इन्स्योरेन्स र इलामको सोक्तिम चिया कम्पनीसँग सम्बद्ध), कैलाश गोयल (मारवाडी सेवा समितिका अध्यक्ष) र संगीता बोथरा छन् । जसमध्ये सन्दिप, मनोज र श्रवण भारत हुँदै दुबई पुगेका छन् भने अरु तीन जना अहिलेसम्म दिल्लीमै रहेको प्रहरी स्रोतले बताएको छ ।

उनीहरू सबै सडकमार्ग हुँदै दिल्ली पुगेको बताइएको छ । त्यहाँबाट भीसा लगाएर दुबई पुगेकाहरू अहिले त्यतै छन् । नेपाली पासपोर्ट होल्डरहरूलाई दिल्लीबाट अर्को कुनै देश जानुपर्दा एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लेटर अनिवार्य छ । त्यहाँस्थित नेपाली दूतावासबाट यस्तो पत्र नलिई कुनै पनि नेपाली पासपोर्ट देखाएर अर्को देश जान पाउँदैन । नेपालमा प्रहरीले समात्न ठीक परेको बेला भागेर दिल्ली पुगेका व्यापारीहरुलाई दूतावासले के आधारमा एनओसी दियो ? अनुसन्धान अधिकारीहरूसमेत चकित परेका छन् । काठमाडौँबाट सडक मार्ग हुँदै भारत छिरेर दिल्ली पुगेका गोविन्द, कैलाश र संगीता भने अहिलेसम्म भारतमै रहेको अनुसन्धानले देखाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?