“बाढी कुन बेला पस्छ पत्तो छैन, सामान पोको पारेर रातभर कुर्नुपरेको छ”

साझा कथा । वर्षातको पानीले किसानलाई राहत हुन्छ । तर बर्षा कसैका लागि अभिषाप हुन्छ । वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्ने उनीहरु पानी परेको रात जागराम बस्छन्, खोलातिर हेर्दै ।

“बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।”

महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिसको बसोबास छ । जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन् ।

स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन् । “घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ”, स्थानीय बमबहादुर सुनारले भने, “घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्यत्र जान्छौँ ।”

आफूहरू डरडरैमा बाँच्नुपरेको भन्दै स्थानीय वसन्ती सुनार सुनाउँछिन्, “केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ, पानी परेमा बेला–बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ ।”

सुनारको घरमा दुई ससाना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन् । स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन् । “घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ”, स्थानीय बमबहादुर सुनारले भने, “घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्यत्र जान्छौँ ।”

उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन् । महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ । “यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ”, उनले भने, “खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ ।”

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ ।

सीमा रक्षक बनेर बसेका उनीहरुलाई सरकारले कहिल्यै हेरेको छैन । चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन् नेताहरु तर पछि बिर्सिन्छन् । महाकाली उचो भइसक्यो, उनीहरु होचो भूभागमा बसिरहेका छन्, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ अनि उनीहरुको उठिबास लगाउँछ पत्तो छैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?