वारेन बफेटका ४ टिप्स, शेयर बजारबाट कसरी नाफा कमाउने ?

साझा कथा । वारेन बफेट, विश्व अर्थबजारमा सबैले चिनेको नाम । पछिल्लो समय शेयर बजारमा प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा बफेटको नाम नेपालमा पनि चर्चा भइरहने नाम हो । शेयर बजारमा बादशाह नै मानिन्छन् उनी । शेयर बजारबारे उनका भनाई र लगानीकर्ताहरुलाई उनले दिने टिप्स विश्वभरका लगानीकर्तामाझ प्रसिद्ध छन् ।

शेयर बजारबाट मुनाफा लिन कुन समयमा शेयर खरीद गर्ने, कुन कम्पनीको शेयर खरीद गर्नेलगायतबारे जानकारी आवश्यक पर्छ । शेयर बजारमा मुनाफा लिन बफेटका यी ४ ओटा टिप्स काम लाग्न सक्छन् ।

१) सबै लोभी हुँदा डराउनुस् र सबै डराउँदा लोभी हुनुस्

लगानीसम्बन्धी बफेटको एउटा भनाइ एकदमै चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन् त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ ।’ यो भनाइको आशय बजारको हल्लाको पछि नलाग्नु भन्ने हो ।

बफेटका अनुसार बजारमा धेरै चर्चामा रहेका शेयरमा कम ध्यान दिनुपर्छ । बजारमा कम चर्चा पाएका तर राम्रो सम्भावना भएका कम्पनीमा लगानी गर्नु पर्छ ।

२) आफूले लिन सक्ने जोखिम मात्र उठाउनुहोस्

बफेटले शेयर बजारका लगानीकर्ताले आफूले उठाउन सक्ने जोखिम मात्रै लिनुपर्ने सुझाव दिन्छन् । ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ । यसरी खोलाको गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ,’ बफेटले उदाहरण दिँदै प्रष्ट्याएका छन् ।

३) आफै अनुसन्धान गर्नुहोस्

स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा विश्वास नगर्न बफेटको सुझाव छ । ‘लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरूको आफ्नै स्वार्थ हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले लगानी गर्नुअघि सधैं आफै अनुसन्धान गर्नुहोस् । कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ ।’

उदाहरणका लागि, सामाजिक सञ्जालमा कुनै कम्पनी किन्नुस् भनेर धेरैले अभिव्यक्ति दिएका हुन्छन् । त्यसमा सबैले आफ्नो स्वार्थअनुरूप कम्पनीको प्रचारप्रसार गरेका हुन् । यसकारण लगानी गर्ने कम्पनीमा लगानीकर्ताले नै सुक्ष्म अनुसन्धान गर्नुपर्छ ।

४) गुणस्तरमा ध्यान दिनुहोस्

बफेट सक्स (मोजा) होस् या स्टक्स (शेयरहरू) गुणस्तर मात्र किन्नुपर्ने सुझाव दिन्छन् । ‘त्यो पनि सस्तोमा किन्नुहोस्,’ उनले भनेका छन्, ‘आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुपर्छ । अझ त्यस्ता शेयर निकै तल्लो विन्दुमा आएको बेला खरीद गर्नुपर्छ । बजार घटेको बेला खरीदका लागि उपयुक्त समय हुन्छ । शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीको आधारभुत पक्ष, जस्तै ः सञ्चालक समिति, कम्पनीको विगत पाँच वर्षको वित्तीय विवरण, लाभांश लगायतका पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?