Ad Banner

अन्यौलका बीच कोशीमा पुनः उद्धव थापा मुख्यमन्त्री

साझा कथा । अन्यौलका बीच कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः नियुक्त भएका छन् । थापालाई प्रदेश प्रमुख परशुराम खापङले मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेसका थापाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गरेका थिए । यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन् ।

यसअघि सभामुख गौतमको हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त भएका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो । अहिले भने सभामुखलाई राजीनामा दिन लगाएर उनी पुनः नियुक्त भएका छन् ।

गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए । एक महिनापछि थापाले पुनः विश्वासको मत लिनुपर्नेछ । राजनैतिक विश्लेषकहरुका अनुसार विश्वासको मत लिने बेलासम्म यो गठबन्धनलाई फेरि समस्या पर्न सक्छ ।

 

यो पढ्नु भयो ?