Ad Banner

डेढ महिनामा बाढी, पहिरो र चट्याङले लियो ५० को ज्यान, नौ अर्ब बढीको क्षति

नेपालमा मनसुन भित्रिएको डेढ महिना पुगेको छ । जेठ ३१ गते भित्रिएको मनसुनले नेपालमा जनधनको क्षति गरेको छ । मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । यो अवधिमा २५ जना बेपत्ता भएका छन् । मनसुनका कारण साढे नौ अर्बभन्दा बढीको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सबैभन्दा बढी मृत्यु पहिरोको कारणले भएको छ । पहिरोमा परेर २४ जनाको ज्यान गएको छ । यस्तै चट्याङ्ले १९ जनाको मृत्यु हुँदा बाढीले सात जनाको ज्यान गएको छ । सबैभन्दा बढी घाइते चट्याङका कारण भएका छन् । जसबाट ४२ जना घाइते भएका छन् । यस्तै पहिरोबाट २३ जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते छन् ।

सबैभन्दा बढी बेपत्ता बाढीबाट भएका छन् । बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट पाँच बेपत्ता छन् । मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यो क्षेत्रमा धेरै क्षति भएको छ । यसपालिको मनसुनको डेढ महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।

मनसुनजन्य गतिविधिका कारण अहिलेसम्म साढे आठ करोड बढीको निजी सम्पत्ति क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिलेसम्म आठ करोड ५५ लाखभन्दा बढीको निजी सम्पत्ति क्षति भएको छ । जसअन्तर्गत बाढीबाट चार करोड ८५ लाख ५० हजार बराबरको क्षति भएको तथ्याङ्क छ । पहिरोबाट तीन करोड ४८ लाख सात हजार बराबरको निजी सम्पत्ति क्षति हुँदा चट्याङबाट २२ लाख ४४ हजारको क्षति भएको छ ।

प्राधिकरणका प्रवक्ता खड्काका अनुसार पहिरो तथा बाढीका कारण ४७० मेगावाटका ६१ जलविद्युत् आयोजनामा नौ अर्बको क्षति भएको छ ।

यो पढ्नु भयो ?