साझा कथा । भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि नेपाल आयल निगमले पनि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । नाफामा जान थालेपछि स्वचालित प्रणाली लागु गरेको निगमले अब भारतीय मूल्य अनुसार नेपालमा घटबढ गर्नेछ ।
नयाँ मुल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७–७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । सिलिण्डर ग्यासको मुल्य घट्दा भने विद्यार्थी, मजदुर लगायतलाई राहत भएको छ ।