Ad Banner

कोशी प्रदेश असफलताको कथा – ६ बर्षमा ६ वटा सरकार, टोलटोलमा मन्त्री, मध्यावधिमा जाने सम्भावना

साझा कथा । संघीयताका सम्बन्धमा असफलताको कथा बन्यो कोशी प्रदेश । ५ बर्षसम्म आफ्नो नामाकरण समेत गर्न नसकेको कोशी प्रदेशले जब आफ्नो न्वारान गर्यो, विवादले उग्र रुप लियो, एकजनाको मृत्यु भयो, सयौँ घाइते भए । अहिले पनि कोशी प्रदेश अशान्त छ । सरकार गठनको छिनाझप्टीका कारण कोशी प्रदेश बदनाम मात्रै भएको छैन, टोलटोलमा मन्त्री र पूर्व मन्त्री भेटिने ठाउँ भएको छ । संघीय संरचना अनुसार राज्य अघि बढेपछिको छ वर्षमा ६ वटा सरकार बनेका छन् भने प्रदेशले पाँच मुख्यमन्त्री पाएको छ । ४४ जना त मन्त्री भइसकेका छन् ।

नेकपा विभाजनको कारण प्रदेशसभाको पहिलो कार्यकालमा तीन वटा सरकार बनेको कोशी प्रदेशमा दोस्रो कार्यकालको ८ महिनामै तीन सरकार बनेका छन् । राजनीतिक दलहरुबीचको समिकरणमा आएको फेरबदलले कुनैपनि दलको बहुमत नरहेको प्रदेशसभाको अंकगणितले अझै धेरै मुख्यमन्त्री र मन्त्रीहरु यो कार्यकालमा देखिने अवस्था छ ।

प्रदेशलाई विकास, समृद्धि र स्थायीत्व दिन नसकेको आरोप लागेको प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु भने प्रशस्त भएका छन् । २०७२ सालमा नयाँ संविधान जारी भएपछि २०७४ समा पहिलो पटक प्रदेश सरकारको मुख्यमन्त्री शेरधन राई बन्दा उनको पक्षमा दुईतिहाई भन्दा धेरै मत थियो । तर, नेकपाको विभाजन भएको कारण उनले बीचमै पद छाड्नुपर्यो भने त्यसपछि भीम आचार्य र राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीहरु छिटोछिटो फेरिने भएकाले प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना सरह बन्यो । भागबण्डा मिलाउन सरकार ढाल्ने र बनाउने खेल नरोकिएपछि जनतामा समेत प्रदेश सरकारप्रतिको वितृष्णा बढेको छ ।

अहिलेसम्म प्रदेशमा ४४ जना मन्त्री भईसकेकोमा वर्तमान मुख्यमन्त्री उद्धव थापाले सरकारलाई पूर्णता दिँदा त्यो संख्या ५० पुग्नेछ । थापाको सरकारले ३० दिनभित्र विश्वासको मत नपाएमा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको रुपमा एमालेका हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बन्नेछन् । उनले पनि ३० दिनभित्र विश्वासको मत नपाएमा बहुमत जुटाउन सक्ने प्रदेशसभाको जो कोही सदस्य संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बन्नसक्छ । सो उपधारा अनुसार कसैको दाबी नपुगे वा दाबी पुगेर बनेको सरकारले पनि विश्वासको मत नपाए प्रदेशसभा विभटन भई नयाँ निर्वाचन हुनेछ ।

प्रदेश सरकारमा देखिएको यस्तो विकृतिले जनतामा निराशा छाएको छ । प्रदेश सरकार बनेपछि जनतामा धेरै आशा र अपेक्षाहरु भए पनि ती पुरा हुन सकेका छैनन् । प्रदेश सरकारको पहिलो कार्यकाल सरकार बनाउँदै र ढाल्दै बितेको तथा दोश्रो कार्यकालमा पनि त्यहि श्रृंखला दोहोरिएपछि कोशी प्रदेश बदनामीको उच्च विन्दुमा पुगेको छ । मध्यावधि चुनावको बाटोमा जान खोजेको कोशी प्रदेशले अबको ४ बर्षमा कति सरकार पाउने हो, टुंगो छैन ।

यो पढ्नु भयो ?