साझा कथा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नी श्रीमतीसँगको सम्बन्ध टुंग्याएका छन् । ५१ बर्षीय प्रधानमन्त्री ट्रुडोले श्रीमति (मोडेल तथा टेलिभिजन प्रस्तोता) सोफी ग्रेगोरीसँग सम्बन्ध विच्छेद गरेका हुन् । वैवाहिक जीवनको १८ वर्षपछि आफ्नी श्रीमतीसँग छुट्टिदा क्यानडाका प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘धेरै अर्थपूर्ण तर जटिल छलफलबाट हामी यो निर्णयमा पुगेका छौँ ।’ तर उनीहरुबीच आउँदा दिनमा भेटिरहने सहमतिका साथ सम्बन्ध विच्छेद भएको हो ।
उनीहरुले बुधवार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिएका क्यानडाली मिडियाहरुले जनाएका छन् । आफ्नो पोस्टमा प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौँ । हामी सधैँ जस्तै परिवार नै रहनेछौँ । हामीले एक अर्काको माया र सम्मानका लागि जे गरेका छौँ, गरिरहनेछौँ ।’

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । उनीहरूका तीन सन्तान छन् । उनीहरुले २००५ मे २८ मा विवाह गरेका थिए । एकमहिनाअघि एक औपचारिक कार्यक्रममा सँगै देखिएका प्रधानमन्त्री दम्पत्ति त्यसयताका सार्वजनिक कार्यक्रममा सँगै देखिएका थिएनन् ।
सम्बन्ध विच्छेदपछि प्रधानमन्त्री ट्रुडो क्यानडाको राजधानी अटावाको रिडिउ कटेजमै बस्नेछन् तर बच्चाहरुलाई त्यहि राखेर सोफीले सो घर छोड्नेछिन् । प्रधानमन्त्री ट्रुडो अटावा बाहिर वा देशबाहिर जानुपरे सोफी घरमा आएर बस्नेछिन् । विदाको समयमा बच्चाहरुसँग उनीहरु सँगै हुने गरी सहमति पनि गरेका छन् । १४ बर्षभन्दा मुनिका ३ बच्चाका आमाबुबा उनीहरु बच्चाहरुलाई मनोसामाजिक दवावमा नराख्न र उनीहरुको हुकाईमा सहयोगी हुन बेला बेला भेट गर्नेछन् ।

तपाईको विचार
0 प्रतिक्रिया