प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले पार्टीमा अराजकता बढ्दै गएको भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् । बुधबारबाट जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । उनीहरूले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको बताएका छन् ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा रहेको बताए । शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले नेतृत्व तहदेखि सच्चिनुको विकल्प नभएको न्यौपानेको भनाइ थियो ।
न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी बनाउँछु भनेर अघि बढेमा कांग्रेस र एमालेभन्दा फरक नहुने बताए । विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलन जसरी माओवादीमा विचलन आउने उनको भनाइ रहेको एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रीय सदस्य हरिराज अधिकारीले ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’ भन्दै नेतृत्वलाई प्रश्न गरे । पार्टीबाट पोलिटब्युरो हटाउनुको कारण के हो भन्दै उनले नेतृत्वले जवाफ दिनुपर्ने बताए । केन्द्रीय सदस्य दिलीप प्रजापतीले पार्टीमा अराजकता हावी हुँदै गएको बताउँदै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको आरोप लगाए । पार्टीमा रहेका दोहोरो भूमिका हटाउन उनको माग थियो ।
सहरमा पार्टी बनाउन संगठनात्मक संरचना नै फरक बनाइनुपर्नेमा जोड दिँदै उनले समाजिक सञ्जालको प्रयोगमा पार्टी चुकिरहेको बताए । केन्द्रीय सदस्य तथा सांसद हितबहादुर तामाङले विगतलाई निर्मम ढंगले समीक्षा गर्दै पार्टीलाई अघि बढाइनुपर्ने बताउँदै पार्टी बनाउन कार्यकर्ताको मूल्यांकन हुनुपर्ने धारणा राखे ।
केन्द्रीय सदस्य माधव सापकोटाले यथास्थितिमा पार्टी निर्माण हुन नसक्ने भन्दै गति दिनेगरी कार्यक्रम बनाइनुपर्ने बताए । उनले सबै कमिटीमा निर्वाचन गरिनुपर्ने उल्लेख गरे । एकै व्यक्ति पटक पटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरेको एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रीय सदस्य दिपेन्द्र पुनले पार्टीले जनसम्बन्ध गुमाएकोले सुधार गर्नु अत्यावश्यक रहेको धारणा राखे । केन्द्रीय सदस्य दिलीप शाहले जम्बो कमिटीले कार्यकर्तामा निराशा थपेको बताए । यस्तै विष्णुप्रसाद भट्टले नेतृत्वले परिवारबाहेक अरुलाई विश्वास गर्न नसकेको प्रश्न उठाए । उनले पार्टीका कतिपय नेताहरुमा कामचोर प्रवृत्ति हाबी भएको बताए । भीम बुढा मगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताउँदै सहिद परिवारको अवस्थाबारे पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।
बुधबार १८ जना केन्द्रीय सदस्यहरुले बोलिसकेका थिए । बिहीबार बोल्नका लागि १८५ जनाले नाम टिपाएका थिए । बिहीबारको बैठकमा बोल्ने क्रममा नेताहरुले पार्टी नेताहरुको जीवनशैलीबारे जोडतोडले प्रश्न उठाएका छन् ।